: नेपाली कांग्रेस देउवा समूहका नेताहरूले विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगमा पुगेका कांग्रेस देउवा समूहका नेताहरूले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूले व्यक्तिको आह्वानमा भएको विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको भन्दै अहिले पनि कांग्रेस बलियो अवस्थामा रहेको बताएका हुन् ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको निर्णय विपरित काम गर्ने अधिकार सभापतिलाई समेत नरहेको भन्दै विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको बताए । उनले पार्टी फुटको अवस्थामा नरहेको र अहिले पनि एकजुट रहेको उल्लेख गरे।
त्यस्तै कांग्रेस नेता कृष्ण सिटौलाले विशेष महाधिवेशनका नाममा भएको निर्णयहर संविधान,कानुन र पार्टीको विधान अनुसार नरहेको दावी गरे। उनले कानुन अनुसार नै निर्वाचन आयोगले निर्णय गर्ने विश्वास व्यक्त गरे । अहिले पनि कांग्रेसको सभापति शेरबहादुर देउवा नै रहेकाले त्यसलाई परिवर्तन गर्ने कुनै आधार नभएको उनको भनाइ छ ।
त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशन पक्षधरको दावी गलत र अवैध भएकाले यसमा द्विविधा राख्नुपर्ने कुनै अवस्था नरहेको जिकिर गरे। कांग्रेस एक भएर अघि बढ्ने भन्दै अब निर्वाचन केन्द्रीत कार्यक्रममा लाग्ने उनले बताए।
त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व नै आधिकारिक भएकाले निर्वाचन आयोगले यसै अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे। त्यस्तै कांग्रेसका नेताहरूले आयोगले विधि विधान बिपरित निर्णय गरे राज्यका लागि दुर्भाग्य हुने समेत बताएका छन् ।