: मोरङको ग्रामथान गाउँपालिका–४ जुरीखोला छेउस्थित बाँसघारीमा जुवाको खाल बनाई जुवाजन्य खेल खेलाइँदै आएको खुलासा भएको छ। गोप्य सूचनाका आधारमा मोरङ प्रहरीले छापा मार्दा चारजना जुवाडेलाई पक्राउ परेका छन्। जुवाखालबाट २५ जनाभन्दा बढी संख्यामा जुवाडे भाग्न सफल भएको स्थानीयले जानकारी दिएका छन्।
शुक्रबार साँझ जुवाजन्य गतिविधि भइरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा जुवाको खालमै कौडा खेल्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। उनले जुवाखालबाट ३ लाख १३ हजार नगद र १६ थान कौडा बरामद गरिएको बताए।
जुवाखालबाट पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जयकिशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई हाल सुनसरीको धरानमा बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ बस्ने ४२ वर्षीय सोनलाल राजवंशी र मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्ने ४७ वर्षीय इन्द्र आचार्य रहेको एसपी कटवालले बताए।
पक्राउ परेकालाई बरामद नगद तथा जुवा सामग्रीसहित इलाका प्रहरी कार्यालय बेलबारी ल्याई कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जुवा खेलाउने मुख्य नाइके तेतरिया खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुजित माझीसहित २५ जनाभन्दा बढी जुवाडे प्रहरी पुग्ने बित्तिकै फरार भएका छन्।
फरार रहेका सबै व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गर्ने तयारी भइरहेको एसपी कटवालले बताए। प्रारम्भिक अनुसन्धानबाट उक्त स्थानमा लामो समयदेखि नियमित रूपमा जुवा खेलाइँदै आएको र कानुनविपरीत गतिविधि हुने गरेको घटना सार्वजनिक भएको छ।