: आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो।
विश्वकपअघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुईवटा अभ्यास सिरिज खेल्नेछ , श्रीलंका ’ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएपछि नेपाली टोली केही समय अघि नै विश्वकप यात्रामा निस्कन लागेको हो।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकपमा राम्रो प्रदर्शन गर्ने र नजिता पनि राम्रो आउने आशा व्यक्त गरे।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्।
प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ।