: शुभकालिका गाउँपालिकास्थित ४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडकखण्डमा शुक्रबार बेलुकी करिब ६ बजेतिर जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।
उनले भने, ‘शुक्रबार बेलुकी करिब ६ बजेको समयमा जिप दुर्घटना भएको हो। उक्त बोलेरो जिप सेरी–पान्तडी सडक खण्डका ठेकेदार निर्माण व्यवसायी अर्जुन गौतमको ठेक्कामा काम गर्ने भाडाको जिप हो।’ जिप सडकबाट करिब ३ सय मिटर तल तिला नदी किनार नजिक खसेको छ।
तिलानदीकै किनारामा तीन जनाको शव फेला परेको छ। शेरीघाटबाट प्यासेफिक एण्ड शर्मिला कन्स्ट्रक्शनको इन्धन (डिजेल) बोकेर पान्तडीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। जिप दुघर्टनामा परेर मृत्यु हुनेमा सोही निर्माण कम्पनीका जेसीबी अप्रेटर दैलेख जिल्ला आठबीस नगरपालिका साईगाँउ बस्ने शंकर कठायत, अर्का जेसीबी अप्रेटर अछाम जिल्ला घर भएका देपेन्द्र शाही, जेसीबीको हेल्पर कालीकोट शुभकालिका गाउँपालिका-२ भर्ता निवासी नवराज शाही रहेका छन्।
दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी प्रमुख खत्री र प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल रातीनै घटनास्थल पुगेका थिए। रातिको समय र भिरालो भूगोलका कारण बेपत्ता व्यक्तिको खोजी कार्यमा कठिनाइ भएको हो। जिप पछाडिको भागका दुईवटा टायर र ढाला भाँचिएको अवस्थामा फेला परेको छ। अहिले खोजी कार्य जारी रहेको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।