— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ ।
बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् ।
निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै शुक्रबार आधिकारिकता दिएपछि पहिलो बैठक बसेको हो ।
यता, पूर्वसभापति शेरबहादुर देउवा पक्षको सानेपामा बसेको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ ।
पूर्वउपसभापति पुर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र संविधानविपरीत भएकाले यसको कानुनी उपचार खोज्ने निर्णय भएको छ,’ बैठकपछि पूर्वप्रवक्ता प्रकाशशरण महतले भने, ‘राजनीतिक रुपमा समेत प्रतिवाद गरेर जाने निर्णय भएको छ ।’