— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र संविधानविपरीत भएकाले यसको कानुनी उपचार खोज्ने निर्णय भएको छ,’ बैठकपछि पूर्वप्रवक्ता प्रकाशशरण महतले भने,‘राजनीतिक रुपमा समेत प्रतिवाद गरेर जाने निर्णय भएको छ ।’
बैठकमा रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता पनि सहभागी थिए ।
निर्वाचन आयोगले कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई नै शुक्रबार वैधानिकता दिइसकेको छ ।