— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जुम्लाका नरेश भण्डारीलाई उम्मेदवार तोकिएका छन्।
शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई टिकट दिएका हुन्।
भण्डारीले सामाजिक सञ्जालमा आफुलाई पार्टीले उम्मेदवार चयन गरेको जनाएका छन्। सुरुमा सुर्खेत र काठमाडौंमा उपलब्ध प्रदेश र केन्द्रीय समिति सदस्यहरुको बैठकले पाँच जनाको नाम सिफारिस गरेको थियो । तर नेकपा केन्द्रीय सर्कुलर अनुसार बनेको कार्यदलले भण्डारीलाई जुम्लाबाट एकल सिफारिस गरेको थियो । ‘आगामी निर्वाचनका लागि पार्टीले मलाई उम्मेदवारका रुपमा चयन गरेको छ,’ भण्डारीले भने ।
भण्डारी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा जुम्ला १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए।