— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा आवश्यक कोटा भन्दा न्यून आवेदन परेको छ । गोरखामा नेपाल प्रहरीतर्फ २२ सय ४ तथा सशस्त्र प्रहरीतर्फ ७९ जनाको लागि दरखास्त आह्वान भएको थियो ।
तर दरखास्त दिने समय सीमा सकिँदासम्म नेपाल प्रहरीतर्फ १९ सय १४ र सशस्त्र प्रहरीतर्फ ३६ जनाले मात्र आवेदन दिएका छन् । दरखास्त दिने म्याद शनिबार सकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । २२ सय ८३ निर्वाचन प्रहरको दरखास्त आह्वान भएकोमा १९ सय ५० को मात्र आवेदन आएको उनले बताए । माग गरिएको कोटा अनुसार ३ सय ३३ जना निर्वाचन प्रहरी अपुग देखिएको हो ।
‘आज दरखास्त दिने समय सकियो, १९ सय ५० जनाको आवेदन आएको छ,’ उनले भने । प्रहरीले पुस २५ गतेबाट माघ १ गते सम्मको समय सीमा तोकेर जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखा मात्र आवेदन संकलन गरेको थियो । सदरमुकाममा मात्र आवेदन लिँदा आवेदन दिनेको संख्या उल्लेखनीय नभएपछि इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र आरुघाटबाट पनि आवेदन संकलन गरिएको थियो । चार ठाउँबाट आवेदन संकलन हुँदा माघ १ सम्म १७ सय २२ ले मात्र आवेदन दिएका थिए ।
‘माघ १ गते पुन दुई दिन म्याद थप भएर आवेदन संकलन हुँदा आवेदन दिनेको संख्या १९५० पुगेको छ,’ उनले भने । आवश्यक भन्दा केही बढी भए प्रतिस्पर्धा गरेर योग्यलाई निर्वाचन प्रहरीमा भर्ना लिने परिपाटी रहँदै आएको थियो । यस वर्ष माग भन्दा कम संख्यामा आवेदन परेपछि प्रतिस्पर्धात्मक छनोटमा पनि अलमल पर्ने देखिन्छ ।