— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी रहे ।
पहिलो खेलमा चित्लाङले नव जनजागृति युवालाई २–१ ले हराएको हो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङले २८ औं मिनेटमा म्याथ्यु बाबाटुन्डेको गोलमा अग्रता लिएको थियो । उदित नारायण चौधरीले ३६ औं मिनेटमा जनजागृतिका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६२ औं मिनेटमा सोलुमन एडेयिन्काले चित्लाङका लागि दोस्रो गोल गरे । यो नै अन्ततः निर्णायक साबित भयो ।
दशरथ रंगशालामा पहिलो खेलमा भने आर्मीका लागि नवीन लामाले १५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि निरञ्जन धामीले ३४ औं मिनेटमा दोस्रो गोल थपेपछि आर्मी दुई गोलले अगाडि रह्यो । खेलको ७७ औं मिनेटमा नवयुग श्रेष्ठले तेस्रो गोल गरे । निरञ्जनले ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जिलेस्पीजंग कार्कीले पाँचौं तथा अन्तिम गोल गरेका थिए ।
यो जितपछि आर्मी प्रतियोगिताको पहिलो चरण अन्त्यतिर पुग्दा तीन अंकसहित शीर्षस्थानमा रह्यो । टोलीको पछाडि फ्रेन्ड्स र प्लानिङ ब्वाइज छ ।
दशरथ रंगशालामै भएको अर्को खेलमा प्लानिङ ब्वाइजले पुलिसलाई १–० ले हराएको हो । माथिल्लो स्तरको घरेलु फुटबलमा प्रशिक्षक सञ्जिव सिंहको पनि यो डेब्यु रह्यो । उनका लागि शंकर थारुले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
आइतबार तीन खेल हुनेछ । त्यसमध्ये पहिलो खेलमा संकटाले काँक्रेबिहारको सामना गर्नेछ । यो खेल च्यासलमा हुनेछ । च्यासलमै हुने दोस्रो खेलमा फ्रेन्ड्स र एपीएफ भिड्ने छन् । जावलाखेल र भगवती क्लबबीचको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । त्यसमध्ये एपीएफ भने आफ्नो पहिलो खेल खेल्दै छ ।