— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका ७ उम्मेदवार टुंग्याएको छ ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा धेरैजनाको नाम सिफारिस भएपछि उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म कर्णालीमा पूर्वमाओवादीबाट ५ र साविक एकीकृत समाजवादीबाट २ जनाले उम्मेदवारको टिकट पाएका छन् ।
नेकपाबाट सुर्खेत क्षेत्र नं.–१ मा जीतबहादुर राना र सुर्खेत–२ मा झकबहादुर मल्ल उम्मेदवार बनेका छन् । राना पूर्व माओवादीको सुर्खेत जिल्ला संयोजक हुन् भने मल्ल इञ्चार्ज थिए । दुवैजना पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् । २०७४ मा एमालेसँग र २०७९ को संसदीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको पूर्वमाओवादीबाट पहिलो संविधानसभा निर्वाचनमा नरबहादुर विष्ट निर्वाचित भएका थिए भने २०७० सालमा उनी पराजित बने । सुर्खेतमा साविक एकीकृत समाजवादीको जनआधार कमजोर मानिएको छ ।
रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बनेका छन् । पूर्व माओवादीको जनाधार राम्रो मानिएको रुकुम पश्चिमबाट पूर्व माओवादी नेता जनार्दन शर्मा २०६४ सालदेखि निरन्तर चारपल्ट निर्वाचित हुँदै आएका थिए । उनले पूर्वमाओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि पूर्वमाओवादी विभाजित भएको छ भने पूर्व एकीकृत समाजवादी यसअघि नै कमजोर मानिएको थियो ।
डोल्पाबाट लगातार तीनपल्ट संघीय सांसद जितेका धनबहादुर बुढा फेरि उम्मेदवार बनेका छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा साविक एकीकृत समाजवादीबाट ११ हजार २ सय ९२ मतसहित विजयी बनेका थिए । तत्कालीन एमालेबाट २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र सहरी विकासमन्त्रीसमेत भइसकेका छन् ।
नेकपाले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार टुंग्याएको छ । उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत बने ।
त्यस्तै दैलेख–१ मा अम्मरबहादुर थापालाई पुनः उम्मेदवार बनाइएको छ । उनले गत प्रतिनिधिसभा निर्वाचनमा साविक एकीकृत समाजवादीबाट १८ हजार २ सय ९७ मतसहित जितेका थिए भने प्रदेशसभा निर्वाचन–२०७४ मा दैलेख १ (ख) बाट तत्कालीन एमालेको तर्फबाट निर्वाचित बनेका थिए । दैलेख–२ मा भने योगेन्द्र शाहीले टिकट पाएका छन् । गत प्रदेशसभा निर्वाचनमा दैलेख २ (ख) मा एमाले उम्मेदवारसँग ८३ मतले पराजित भएका थिए । उनी कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् ।
हुम्ला, कालीकोट, जाजरकोट, सल्यान र मुगुबाट धेरैजनाको नाम सिफारिस भएका कारण छलफल चलिरहेको र ढिलोमा सोमबारसम्म उम्मेदवारको टुंगो लाग्ने साविक समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले बताए । पूर्वमाओवादीका प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले एकतामा आएका सबै पार्टीलाई समेटेर उम्मेदवारको टुंगो लगाइने जानकारी दिए ।