मुख्य समाचार
पृथ्वी सुब्बा गुरुङ लमजुङबाट नवौं पटक चुनावी मैदानमा उत्रिन लागेका छन्
पृथ्वी सुब्बा गुरुङ लमजुङबाट नवौं पटक चुनावी मैदानमा उत्रिन लागेका छन्

— नेपाली राजनीतिमा पृथ्वी सुब्बा गुरुङ नौलो नाम होइन । लमजुङको क्व्होलासोथार गाउँपालिका- ९, गिलुङ टक्सार घर भइ हाल नेकपा (एमाले) उपाध्यक्ष रहेका उनी नवौंपटक चुनाव लड्दैछन् ।

संघीयतापछि प्रतिनिधि सभा सदस्यका लागि एउटामात्र निर्वाचन क्षेत्र कायम भएको लमजुङमा उनी दोस्रोपटक चुनावी मैदानमा उत्रिन लागेका हुन् । नेकपा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घलेले दाबी रहे पनि आफू सम्मिलित पार्टी सचिवालय बैठकले फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्ततः पृथ्वी सुब्बा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

पार्टीले पृथ्वी सुब्बा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सामाजिक सञ्जाल तातेको छ । लमजुङबाट हालसम्म यतिका ‘हेभीवेट’ नेता अरू नभएकाले उनैलाई विजयी गराउनुपर्ने एकाथरीको तर्क छ । अर्को थरीको तर्क भने सामाजिक सञ्जाल बन्द गराउनेलाई भोट दिन नहुने र नयाँलाई दिनुपर्ने तर्क अघि सारेका छन् ।

२०७९ को चुनावमा घले प्रतिनिधि सभा सदस्य र गुरुङ प्रदेश सभा सदस्यका लागि चुनाव उठ्ने गरी अघि बढे पनि पार्टीले गुरुङलाई प्रतिनिधि सभा सदस्य र घलेलाई प्रदेश सभा सदस्यका लागि टिकट दियो । तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार नेपाली कांग्रेसका टकराज गुरुङले प्रदेश (१) मा चुनाव जित्दा घले पराजित भए । तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई हराउँदै पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए ।

२०४३ सालबाट हरेक संसदीय निर्वाचनमा उम्मेदवार पृथ्वीसुब्बाले २०७९ को चुनावमा देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बने । पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत ल्याउँदा देवप्रसादले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए । कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकामा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये २ हजार ३ सय ८४ मत बदर भएको थियो ।

पृथ्वी सुब्बा गुरुङ २०४३ सालदेखि हरेक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ मा उनी उम्मेदवार थिए । यसअघि ८ पटक चुनाव लडेका पृथ्वी सुब्बा गुरुङ २०६४, २०७४ र २०७९ मा मात्रै गरी ३ पटक निर्वाचित भए । बाँकी ५ पटक हारे ।

अमृत साइन्स क्याम्पसमा २०३४ मा बीएससी अध्ययन सकेर आफ्नै गाउँ हाल क्व्होलासोंथर गाउँपालिका-९, गिलुङमा रहेको हालको बुद्धोदय माविमा उनी शिक्षक बने । विज्ञानका शिक्षक करिब ७ बर्ष प्रधानाध्यापकमा रहँदै गर्दा राजिनामा दिएर २०४३ मै जनपीक्षय उम्मेदवार बने । ‘एक वाम–एक ठाम’ नारा दिएर चुनाव लड्दा राष्ट्रिय पञ्चायत सदस्यमा लेखनाथ अधिकारीसँग उनी हारेका थिए ।



२०४८ मा उनी कांग्रेसका रामबहादुर गुरुङसँग पराजित भए । २०५१ मा उनी पुनः उनै रामबहादुरसँग हारे । २०५६ मा कांग्रेसका हरिभक्त अधिकारीसँग हारे । एमाले तेस्रो पार्टीमा खुम्चिँदा २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै उनी निर्वाचित भए । २०६५ देखि २०६९ सम्म आदिवासी जनजाति सभासदको समूह ककसको संयोजक बनेका उनी खसआर्य समुदायमाझ विवादित बनाइँदा २०७० को दोस्रो संविधान सभा चुनावमा कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७२ मतले पराजित भए ।

२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पृथ्वीसुब्बा लमजुङ प्रदेश (ख) बाट निर्वाचित हुँदै गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने । तत्कालीन नेकपामा आएको खटपटपछि तत्कालीन माओवादी केन्द्र समर्थित सांसदहरूले समर्थन फिर्ता लिँदा उनी २०७८ जेठ २७ गते पदमुक्त भए । मुख्यमन्त्री हुँदा उनले प्रदेश संरचनालाई बलियो बनाउन गण्डकी विश्वविद्यालय स्थापना गरे । एक घर एक धारको अभियान चलाएर घरघरै धारा पुर्‍याए । हरेक पालिका केन्द्रसम्म पक्की सडकको योजना अघि सारे । उज्ज्यालो प्रदेशको परिकल्पना गरे । मुख्यमन्त्रीहरूलाई भेला गरेर केन्द्रीय एकीकृत अधिकारबारे धावा बोले । संवैधानिक अधिकार मागे ।

२०७९ को निर्वाचनमा विजयी उनी २०८१ असार ३१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा चुनिए । सत्तामा रहेको १५ महिना नबित्दै गत भदौ २३ को जेन्जी आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढल्यो । सामाजिक सञ्जाल बन्द गराएको र रुखो अभिव्यक्ति दिएको भन्दै उनी आलोचित भए । एमाले र उनले सामाजिक सञ्जाललाई बन्द नभइ सेवा प्रदायकले नेपालको संविधान मानेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दा अटेरी गरेपछि परिणाम भन्दै आएको छ । जेन्जी आन्दोलनमा घुसपैठ हुँदा घटना घटेको एमाले र उनको तर्क छ ।

संघीयता पक्षधर पृथ्वी सुब्बा गुरुङ पार्टीभित्र बैचारिक नेतामा गनिन्छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित उनी ११ औं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन् । नागरिकता अनुसार २०१४ फागुन २ गते जन्मिएका ६८ वर्षीय पृथ्वी सुब्बा गुरुङले आफ्नो जितलाई निरन्तरता दिन सक्छन् या सक्दैनन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...
— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्। मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ...