— नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मकवानपुरका दुवै क्षेत्रका उम्मेदवारको नाम घोषणा गरेको छ। एमालेले यस निर्वाचनमा पनि राप्रपासँग तालमेल गर्छ कि भन्ने आशंका थियो।
गत प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर–१ मा साबिकको राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेले सूर्य चिन्ह बोकाएर समर्थन गरेको थियो। त्यति बेला उम्मेदवारी दिने अवस्थामा पुगेका एमालेका नेता रामेश्वर राना उम्मेदवारी दिनबाट वञ्चित भएका थिए।
एमालेका मकवानपुरका इन्चार्जसमेत रहेका रानालाई मकवानपुर–१ बाट उम्मेदवारी दिन टिकट दिएको छ। राना २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका उम्मेदवार कुमारी मोक्तानबाट पराजित भएका थिए। त्यसपछि उम्मेदवार बन्न पाएको रानाको यो पहिलो हो।
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर–१ बाट राप्रपाका नेता दीपकबहादुर सिंहले २७ हजार ८१६ मत पाएर विजयी भएका थिए।
कांग्रेसका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले २५ हजार ४२३ मत ल्याएकी थिइन् भने एमालेका उम्मेदवार राप्रपा नेपालका नेता कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए। अहिले उक्त क्षेत्रमा अन्य दलहरूले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छैनन्। उक्त क्षेत्रमा १ लाख ५८ हजार ४३५ मतदाता छन्।
यसैगरी एमालेले मकवानपुर–२ नम्बर क्षेत्रमा निवर्तमान सांसद एवं एमालेका पूर्व सचेतक महेश बर्तौलालाई उम्मेदवारी दिनका लागि टिकट दिएको छ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका बर्तौलाले यसअघि साबिकको एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार दिएका विरोध खतिवडालाई पराजित गरेका थिए। उक्त निर्वाचनमा खतिवडालाई कांग्रेस र एकीकृत माओवादीले समर्थन गरेका थिए।
उक्त निर्वाचनमा एमालेका महेश बर्तौलाले ३४ हजार ९१६ मत ल्याएर विजयी बनेका थिए भने विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका थिए। उक्त निर्वाचन क्षेत्रमा अहिले १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।