: विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा सबै पक्षलाई समेट्न प्रयास गर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सभापति थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको जानकारी गराएका हुन्। ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले भने,‘भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’
उनले जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ सबै एक ढिक्का भएर जिताउनुपर्ने बताए। ‘हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौं। त्योभन्दा धेरै भिन्न तरिकाले गर्नुपर्छ भन्ने मेरो हाम्रो सोचाइ हो। खास गरी अन्तिम चरणमा केन्द्रले छान्ने भन्ने कुरा नै गलत हो। तलैबाट प्रत्येक निर्वाचन क्षेत्रबाट छान्नु पर्छ भनेर विधानको प्रस्ताव पनि गरेका छौं,’ उनले भने, ‘निर्वाचन आयोगको निर्णयपछाडि केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नु भएको स्थिति छ। कानुनी परीक्षण खोजिराख्नु भएको साथीहरूलाई पनि समेटेर लैजाऊँ भनेर हिजो साँझसम्म त मेरो केही प्रयास रह्यो, त्यसको कारणले गर्दा अहिले एकदमै धेरै समयको चाप परेको छ। यो बिचमा मिलाउने प्रयास गरिरहेको छ।’
उनले कांग्रेसमा नयाँ र पुरानाको सन्तुलन र समावेशी बनाउने प्रयास भइरहेको उनले जानकारी दिए।