: नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका अबुल हुसैन अन्सारीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्सारीलाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेका छन् ।
यसअघि सुनसरी–४ बाट उम्मेदवार बनाइएका पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य जगदीश कुसियतलाई पार्टीले सुनसरी–२ मा सार्दै अन्सारीलाई टिकट दिएपछि स्थानीय तहमा एमालेभित्र असन्तुष्टि चुलिएको छ ।टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै एमाले कार्यकर्ता अजय कुसियतलगायत नेताहरूले पार्टी नेतृत्वले गलत निर्णय गरेको गुनासो गरेका छन् ।
एमालेका अनुसार कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका अन्सारी सोमबार अध्यक्ष ओलीको निवास दुल्लुमा आयोजित कार्यक्रममा औपचारिक रूपमा एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै उनलाई सुनसरी–४ को उम्मेदवारको जिम्मेवारी दिइएको छ ।
एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अन्सारीले आफूले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै बिताएको बताए । उनले भने,'राजनीतिका थुप्रै उकाली–ओराली कांग्रेसमै रहेर पार गरें। तर पछिल्लो समय कांग्रेसभित्रको किचलो र स्वार्थकेन्द्रित राजनीतिले मलाई विचलित बनायो। कांग्रेसले लोकतन्त्रको मर्म र बीपीको सिद्धान्त बिर्सिंदै गएको महशुस गरेपछि भारी मनका साथ पार्टी परित्याग गर्ने निर्णय गरेँ।'
उनले सुनसरीमा सधैं बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइँदै आएको र स्थानीय योगदानको उचित मूल्यांकन नहुँदा आफू पीडित भएको बताए । कांग्रेसबाट एमाले प्रवेश गरेका अन्सारीलाई टिकट दिएपछि सुनसरी–४ को राजनीतिक समीकरण थप रोचक बनेको छ ।
यसले एमालेभित्रको असन्तुष्टिले आगामी दिनमा पार्टीभित्रको आन्तरिक व्यवस्थापन कस्तो हुने भन्ने प्रश्नसमेत उठाएको एमाले कार्यकर्ताको भनाइ छ ।