: प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा ३ जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट माधवप्रसाद ढुंगेल, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ,नेपाली कांग्रेसबाट रामचन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका हुन्।
ढुंगेल एमालेबाट ४ पटक केन्द्रीय सदस्य, अनेरास्ववियुका पूर्वअध्यक्ष, राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष भएर दुई कार्यकाल काम गरिसकेका अनुभवी युवा नेता हुन्। युवा- विद्यार्थी माझ लोकप्रिय नेता ढुंगेल संसदीय निर्वाचनमा भने पहिलो पटक सहभागी हुन लागेका छन्।null
खड्का नेपाली कांग्रेस रामेछापका पूर्व सभापति हुन्। उनी यस अगाडिको संविधान सभाको निर्वाचनमा पराजित भएका थिए। null
रामेछापमा सुरुमा कांग्रेसबाट पूर्णबहादुर खड्का (कान्छाराम) ले टिकट पाएका थिए तर मनोनयनको अघिल्लो साँझ खड्काले पाएका हुन्। कांग्रेसभित्रको आन्तरिक कलहले जिल्लामा समस्या खडा भएको कांग्रेस कार्यकर्ताको बुझाई छ।null
श्रेष्ठ यस अगाडि पनि तत्कालीन एमाले र माओवादीको गठबन्धनबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका थिए। उनले टिकट पाएसँगै सामाजिक सञ्जालमा भने तत्कालीन माओवादीका नेता कार्यकर्ताले पटक-पटक एउटै व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा यस पटक पनि एमाले-कांग्रेस र नेकपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजनीतिमा लामो समय संघर्ष गरेका पुराना र अनुहारबीच यस रोचक प्रतिस्पर्धा हुने भएको हो। null
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णहरि बुढाथोकी, नेपाल मजदुर किसान पार्टीबाट केशरी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, नेकपा माओवादीबाट यमुनबहादुर बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ, आम जनताबाट पदमबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।