मुख्य समाचार
राइट टू रिजेक्टको व्यवस्था नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
राइट टू रिजेक्टको व्यवस्था नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

— निर्वाचनमा उम्मेदवारलाई ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी सर्वोच्च अदालतले दुई पटक दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता श्रीना नेपालसहितले सर्वोच्चमा अवहेलना निवेदन दर्ता गरेकी हुन्। निवेदनमा नेपाल सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। रिट निवेदनको मंगलबार पहिलो सुनुवाइ भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला सुनाएको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो। सर्वोच्चले २०७० र २०७३ सालमा यस विषयमा एउटै सल्ला सुनाएको थियो।

तर सरकार र निर्वाचन आयोगले आदेश कार्यान्वयनका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक पर्ने भन्दै पन्छाउँदै आएको छ। निर्वाचन आयोगले केही समय अघि विधेयक मस्यौदा पनि गरेको थियो।
२०७३ फागुन १३ गते पनि सर्वोच्चको फैसला कार्यान्वयन नभएकामा कारबाहीको माग गरी अधिवक्ता स्वागत नेपालले सर्वोच्चमा दोस्रो पटक मुद्दा हालेका थिए। २०७९ वैशाख १५ को स्थानीय निर्वाचन अघि पनि अदालतको फैसला अनुसार कानुन नबनेको भन्दै अधिवक्ता नेपालले अदालतको अवहेलना सम्बन्धी मुद्दा हालेका थिए। आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिरहेको छ तर उम्मेदवारलाई अस्वीकार गर्न पाउने विकल्प मतपत्रमा नभएको भन्दै नेपालसहितले अवहेलना मुद्दा दर्ता गराएका हुन्।

किन भएन कार्यान्वयन?


सर्वोच्च अदालतको निर्देशन अनुसार कानुन बन्न नसक्दा ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो। राइट टु रिजेक्टको व्यवस्था सम्बन्धी २०७४ सालमा संसद्को राज्य व्यवस्था समितिमा छलफल भएको थियो। उक्त छलफलमा प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) उम्मेदवारलाई अस्वीकार गर्ने व्यवस्थाको विरुद्धमा उभिएका थिए।

राइट टु रिजेक्टको अधिकार सम्बन्धमा अदालतको आदेश कार्यान्वयन नहुनुमा राजनीतिक दलहरूको उदासीनताका साथै नागरिक समाजले पनि पर्याप्त आवाज उठाउन नसकेको देखिन्छ। सर्वोच्चको फैसला कार्यान्वयन हुन नसक्नुमा प्रमुख राजनीतिक दलहरूसँगै निर्वाचन आयोग पनि उत्तिकै जिम्मेवार भएको अवहेलना निवेदनमा उल्लेख छ।



२०७० साल मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूलाई मतदाताले अस्वीकार गर्न पाउनुपर्ने भन्दै विकास लकाई, भाइराजा राई र स्वागत नेपालले २०७० साल कात्तिक १० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उक्त रिटमा पुस २१ गते फैसला गर्दै मत जाहेर गर्दिन भनी नागरिकले आफ्नो विचार अभिव्यक्त गर्न पाउनुपर्ने नागरिक अधिकार भएको भन्दै आगामी निर्वाचनमा संवैधानिक वा कानुनी व्यवस्था गरी सो व्यवस्था लागू गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय तथा निर्वाचन आयोगको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।
फैसलाका अनुसार प्रजातान्त्रिक अभ्यासमा जनताको सार्वभौमिकता स्वीकार गर्दा मतदातालाई कुनै मत व्यक्त गर्न बाध्य गर्ने नभई दिइएको विकल्पहरूलाई अस्वीकार गरी नयाँ विकल्पको आवश्यकतालाई औँल्याउन पाउने अधिकार सुनिश्चित गरिनुपर्छ भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्। दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्। उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई ...
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...