— निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ। सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत अफवाह फैलाउने, गलत सूचना प्रवाह गर्ने तथा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिको निगरानी र नियन्त्रण गर्न सेल सक्रिय बनाइएको हो।
मंगलबार गृह मन्त्री ओमप्रकाश आर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेले निर्वाचन केन्द्रित साइबर प्रहरी सेल सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन्। उनीहरूका अनुसार निर्वाचन आयोगसँग समन्वय गरेर सेलमार्फत डिजिटल माध्यममा देखिने शंकास्पद गतिविधिको निगरानी, नियमन र नियन्त्रणको व्यवस्था गरिएको छ।
साइबर सेलले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा देखिने अफवाह, भ्रामक सूचना र निर्वाचन केन्द्रित अनुचित गतिविधि पहिचान गरी कैफियत देखिएमा निर्वाचन आयोगलाई जानकारी दिनेछ। त्यसपछि आयोगले छानबिन गरी गलत वा भ्रामक सामग्री पुष्टि भएमा आफ्ना प्रविधिगत टुल प्रयोग गरी सामग्री हटाउने र कसुर देखिएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिइएको छ।
अफवाह र गलत सूचना फैलाउने गतिविधिलाई देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत सूक्ष्म निगरानीमा राखिएको प्रवक्ता काफ्लेले बताए। निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्न डिजिटल माध्यमको दुरुपयोग रोक्नु अहिलेको प्रमुख चुनौती भएकाले साइबर सेललाई सक्रिय बनाइएको उनको भनाइ छ।
प्रहरी र निर्वाचन आयोगबीचको समन्वयमार्फत सामाजिक सञ्जालमा हुने दुष्प्रचार नियन्त्रण गर्ने, मतदातालाई भ्रममा पार्ने सामग्री रोक्ने र निर्वाचन प्रक्रिया सुरक्षित बनाउने लक्ष्यसहित साइबर सेल सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ।