: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन्।
स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को बैठकमा बोल्दै बेसेन्टले अमेरिकी कर नीतिले भारत–रुसबीचको ऊर्जा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन्।
भारत लामो समयदेखि रुसबाट ठूलो परिमाणमा कच्चा तेल आयात गर्दै आएको देश हो। तर अमेरिकी भन्सार शुल्क लागू भएपछि पछिल्ला महिनाहरूमा भारतको रूसी तेल आयातमा उल्लेखनीय गिरावट आएको विभिन्न तथ्याङ्कहरूले देखाएका छन्। विशेषगरी डिसेम्बर र जनवरी महिनामा रुसबाट भारतको तेल आयात तीव्र रूपमा घटेको बताइएको छ।
यद्यपि, भारत सरकारले भने बारम्बार आफ्नो नीति स्पष्ट पार्दै आएको छ। भारतको भनाइ अनुसार १ अर्ब ४० करोड जनसंख्याको ऊर्जा आवश्यकता पूरा गर्न उसले अन्तर्राष्ट्रिय बजारबाट किफायती दरमा कच्चा तेल खरिद गर्नु अपरिहार्य छ। यसो नगर्दा घरेलु उपभोक्तामाथि ठूलो आर्थिक दबाब पर्ने भारतको तर्क छ।
अमेरिकी पक्षको दाबी र भारतको आधिकारिक धारणा फरक देखिए पनि पछिल्लो समय भारत–रुस तेल कारोबारमा आएको कमीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र भूराजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।