— सप्तरीबाट चार प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनमा १ सय ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट २१ जना, २ बाट ३४ जना, ३ बाट २२ जना र ४ बाट २७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएकामध्ये ५९ जना राजनीतिक दलका छन् भने बाँकी स्वतन्त्र उम्मेदवार हुन् ।
क्षेत्र नम्बर १ बाट ७ जना, २ बाट १४ जना, ३ बाट ८ जना र ४ बाट १३ जना गरी ४५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउत, नेकपा एमालेका निवर्तमान पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साहलगायतको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव, पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलगायतले उम्मेदवारी दिएका छन् । पूर्वसिँचाइ मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट र पूर्वमुख्यमन्त्री सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वसांसदहरू नेपाली कांग्रेसका दिनेशकुमार यादव र नेकपा एमालेका ताराकान्त चौधरीलगायतको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ४ बाट पूर्वसांसद नेपाली कांग्रेसका तेजुलाल चौधरी, जसपा नेपालकी महिला नेतृ डा. वाँबी सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साहलगायतले उम्मेदवारी दिएका छन् ।
यहाँ २ लाख ३३ हजार ९६ पुरुष, २ लाख १३ हजार २८३ महिला र २३ अन्य गरी कूल ४ लाख ४६ हजार ४०२ मतदाता छन् ।