: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् ।
बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए । उनी बिर्तामोड- १ स्थित निश्चल बस्नेतको घरमा बसेका थिए । उनीहरुबिच निर्वाचनको समसामयिक विषयमा छलफल भएको हो । उम्मेदवार राना मगरलाई सहयोग गर्नका लागि बालेनसहितको टिम बिर्तामोड आएको एक सहयोगीले बताए।
बालेनले जिल्लामा निर्वाचनको माहौल बनाउन पार्टी नेता तथा कार्यकर्ताहरुसँगै आफ्ना शुभचिन्तक र समर्थकहरुसंगको भेटघाटलाई तीव्रता दिएको जनाइएको छ । बिर्तामोडमा भेटघाट सकेर बालेन आफ्नो निर्वाचन क्षेत्र दमकतर्फ लागेका छन् । यस पटक झापा ५ देशभरमै चर्चामा रहेको छ । २०४८ सालदेखि लगातार त्यस क्षेत्रबाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न बालेनले झापा ५ रोजेपछि चुनावी माहौल तातिएको छ ।