। मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडीएन बीएचडीले नेपालबाट शून्य लागतमा यो वर्ष ८ सय श्रमिक लैजाने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा शून्य लागत तथा नैतिक र न्यायोचित भर्ती प्रणाली मार्फत नेपाली श्रमिक लैजाने भएको हो । विगतदेखि नै शून्य लागतमा लगिरहेको उक्त कम्पनीले यस वर्ष थप ८ सय श्रमिकलाई लैजाने भएको हो । सन् २०२२ मा नेपालमै पहिलो पटक शून्य लागतको घोषणा गरेको थियो, जसले नेपालको वैदेशिक रोजगारी क्षेत्रमा सुरक्षित, मर्यादित र पारदर्शी रोजगारीको नयाँ मानक स्थापना गरेको थियो ।
सन् २०२२ मा विस्ट्रोन टेक्नोलोजी एसडीएन बीएचडीले शून्य लागत तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार नैतिक भर्ती प्रणाली अवलम्बन गर्दै नेपाली कामदारलाई ऋणको बोझ बिना रोजगारीमा लैजाने प्रतिबद्धता गरेको थियो ।
विस्ट्रोन टेक्नोलोजीले नेपालमा आकर्षण इन्टरनेसनल र लाल धनुष इन्टरनेसनल सर्भिसेज प्रालि मार्फत श्रमिक लैजाने भएको हो । यस वर्ष पुनः दुईवटा नेपाली एजेन्सीमार्फत ६०० महिला र २०० पुरुष गरी ८०० जना नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा लैजाने प्रक्रिया अघि बढाएको हो ।
‘शून्य लागत भर्ती केवल नीति होइन, मानवीय मूल्य र जिम्मेवार व्यवसायिक अभ्यासको प्रतिबिम्ब हो । नेपाली कामदारलाई सुरक्षित, मर्यादित र ऋणमुक्त रोजगारी प्रदान गर्नु हाम्रो दीर्घकालीन प्रतिबद्धता हो,’ कम्पनीले भनेको छ ।
मलेसियाले देशभित्र देखिएको श्रमिक अभावको परिपूर्ति गर्न दक्षिण एसियाका विभिन्न देशहरूलाई स्रोत मुलुकका रूपमा चयन गरी श्रमिक आपूर्ति गर्दै आईरहेको छ ।
नेपाल सरकार र मलेसिया सरकारबीच सन् २९ अक्टोबर २०१८ मा श्रम सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौतापछि मलेसियाका उत्पादन, निर्माण, सेवा, कृषि तथा अन्य विभिन्न क्षेत्रमा नेपालबाट श्रमिकहरू वैधानिक र व्यवस्थित रूपमा जाने गरेका छन् ।
शून्य लागत प्रणालीमार्फत विदेश गएका नेपाली कामदारहरूले आफ्नो आम्दानी ऋण तिर्न खर्चिनु नपरी औपचारिक माध्यमबाट रेमिट्यान्स नेपाल पठाउन सक्षम हुने गरेको आकर्षण म्यानपावरका अध्यक्ष विष्णु केसीले बताए । यसले कामदारको जीवनस्तर सुधार गर्नुका साथै रेमिट्यान्सको पारदर्शिता, स्थायित्व र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने उनको भनाइ छ ।
अध्यक्ष केसीका अनुसार वेस्टर्न टेक्नोलोजीले श्रमिक मलेसिया पुग्नु अघि नै प्रत्येक श्रमिकका लागि १ लाख २० हजार रुपैयाँ खर्च अग्रिम रूपमा पठाउने गर्छ । सोही रकमबाट श्रमिकले पासपोर्ट बनाउने, श्रम स्वीकृति लिने, भिसा, टिकट, मेडिकल परीक्षण, बिमा, पूर्व–प्रस्थान अभिमुखीकरण तालिम, रोजगार सम्झौता तथा सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरेका छन् ।
वेस्टर्न टेक्नोलोजी बहुराष्ट्रिय कम्पनी भएकाले श्रमिकसँग कुनै पनि किसिमको शुल्क लिन नपाइने स्पष्ट नीति रहेको छ । कम्पनीमा जाने श्रमिकले आफ्नो पासपोर्ट आफैं राख्न पाउने, यदि कम्पनी मन नपरे १५ दिनभित्र नेपाल फर्किन सक्ने व्यवस्था पनि गरिएको छ ।
आकर्षणले विगत १० वर्षदेखि शून्य लागतमा वैदेशिक रोजगारी उपलब्ध गराउँदै आएको छ । हाल मलेसियामा काम गर्न इच्छुक हजारौं नेपालीले आवेदन दिइरहेका छन् र अन्तर्वार्ता प्रक्रिया जारी रहेको उनले बताए ।
अध्यक्ष केसीले वैदेशिक रोजगारीमा देखिँदै आएको दलाल र ठगीको समस्याप्रति चिन्ता व्यक्त गर्दै भने, ‘नेपाली श्रमिकलाई वैध, सुरक्षित, पारदर्शी र जिम्मेवार प्रक्रियामार्फत विदेश पठाउन प्रतिबद्ध छौँ । श्रमिकलाई ठगीबाट जोगाउन र सीपअनुसार रोजगारीमा जोड्नु हाम्रो मुख्य उद्देश्य हो ।’
मलेसियामा हाल न्यूनतम तलव १ हजार ७ सय रिंगिट तोकिएको छ । मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ ।