— भक्तपुरको सानो थिमीस्थित बालसुधार गृहमा बालबिज्याइँकर्ताबीच झडप भएको छ । बिहीबार रातिदेखि भएको झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
बिहीबार राति पौने १० बजेदेखि बालसुधार गृह भित्र भएको झडपमा केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ । घाइतेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि ७ जनाको डिस्चार्ज भएका छन् भने एक जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
१ सय ६९ जना बालबिज्याइँकर्ता रहेको सुधार गृहमा १८ वर्ष भन्दामाथिका करिब ७५ जना रहेका छन् । प्रहरीका अनुसार उनीहरुबीच नै झडप सुरु भएको थियो । केही बालबिज्याइँकर्ताले कुटपिट गरि घाइते बनाएर सुधारगृह तोडफोड गरि आगजनी गरेका थिए ।
बिहीबार राति नै दमकल प्रयोग गरि आगो नियन्त्रणमा लिइसकिएको छ । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृह भित्रबाट ढुंगामुडा समेत प्रहार गरेको प्रहरीले जनाएको छ । बालबिज्याइँकर्ता सुधार गृहबाट भाग्न सक्ने भन्दै अहिले २ सय भन्दा बढी प्रहरीले सुधारगृहलाई बाहिरबाट घेरा हालेर बसेको प्रहरी प्रमुख खड्काले बताए ।
केही बेरपछि मानव अधिकारी आयोगले पनि बालसुधार गृहको अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।