— एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा फरक समूहबाट प्रतिस्पर्धा गर्ने नेताहरूलाई टिकट नदिएर पाखा लगाएको भन्ने प्रश्नको प्रतिवाद गरेका छन् ।
काकान्तिपुरसँगको कुराकानीमा ओलीले आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने ईश्वर पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बनेको बताउँदै सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेकोले टिकट नदिएको तर्क गरे । उनले भने, 'बिन्दा पाण्डेको कुनै आधारै छैन । मसँग मतभेद राख्नु नै उम्मेदवारी प्राप्त गर्ने आधार होइन नि । निर्वाचन क्षेत्रमा कस्तो स्थिति छ, के छ भनेर हेर्नुपर्छ । जसले जित्ने स्थिति हुन्छ, उसले टिकट पाउने हो ।'
उनले जित्ने स्थिति नभएका र नकारात्मक भूमिका खेलेकाहरूलाई टिकटको ग्यारेन्टी गर्न नसकिने पनि बताएका छन् । उनले भने, 'जितियोस् कि नजितियोस्, टिकट थमाइदिनुपर्ने भन्ने हुँदैन । जसको जित्ने सम्भावना छ, उनीहरूले पाएका छन् । विपक्ष कोही पनि छैन ।'
एक समय ओलीसँग निकट रहेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि यसपटक काभ्रेबाट टिकट पाएनन् । यस्तो किन भएको हो भन्ने प्रश्नमा ओलीले बास्कोटाको निर्वाचन क्षेत्रमा चार वर्ष अगाडि र अहिलेको स्थितिमा फरक परेको तर्क गरे । उनले भने, 'गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ? अथवा जनतामा उहाँका कामहरूप्रति असन्तुष्टि भए कि ? जनताले मन नपराउने र भोट हाल्न मुस्किल हुने स्थिति बन्यो कि ? त्यस्ता कुराहरूको मूल्यांकन भएको हुन सक्छ ।'
उनले अघिल्लो पटक टिकट पाएकाहरूले यसपाला पनि खुरुखुरु टिकट पाउने अवस्था नहुने बताउँदै पहिले जित्नेले यसपाला पनि अनिवार्य जित्छ भन्ने नहुने बताए । उनले भने, 'एउटा खेलाडी छनोट भएको हुन्छ एक पटक, अर्को पटक त्यो छनोटमा नपर्न सक्छ । क्याप्टेनले आफ्नो टिमलाई जिताउने उद्देश्यलाई धेरै हिसाब गरेर नै खेलाडी छनोट गर्छ ।'