— शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस पटक जलपन्छीको संख्या बढेको छ। निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका तलतलैयादेखि नदी नालाहरुमा गरिएको गणनामा २५ हजार बढी जलपन्छी भेटिएका हुन्।
नेपाल पन्छी संरक्षण संघका चराविद् हिरुलाल डगौंराका अनुसार निकुञ्जको शिकारी ताल, रानी तालसँगै महाकाली नदीको तटीय क्षेत्र र निकुञ्ज बाहिरको पुरैनी ताल र बन्दालगायतका तालमा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । ‘गत वर्षभन्दा यस वर्ष जलपन्छीको संख्या केही बढेको छ,’ डगौंराले भने, ‘शिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी चरा भेटिए ।’ उनका अुनसार गत वर्षको गणनामा २२ हजार हाराहारी जलपन्छी भेटिएका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल, नेपाल पन्छी संरक्षण संघ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिनेचर गाईड एशोसिएसन, रानाथारु होमस्टे कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् संघले संयुक्त रुपमा जलपन्छी गणना गरेका हुन् ।
चिसो छल्न साइबेरियन चराहरु अक्टोबरदेखि बसाइँ सर्ने गर्छन् । अक्टोबरदेखि मार्चसम्म चराहरु यहाँ बस्ने गरेको चराविद् डगौंरा बताउँछन् । उनका अनुसार जनवरी ३ देखि ८ सम्म गणना गरिएको थियो । ‘ताल तलैया र नदीनालाको अवस्था राम्रो भएका कारण जलपन्छीको संख्या बढ्दै गएको छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले भने, ‘मौसमी बसाइँसराई गर्ने जलपन्छीको संख्या बढेको छ, बासस्थानदेखि आहारा राम्रो भएको मान्नुपर्छ ।’ उनका अनुसार निकुञ्ज र आसपासका तालतलैयाको अवस्था चराका लागि राम्रो रहेको छ ।
तर महाकाली नदी पानी कम भएका कारण यस वर्ष तटीय क्षेत्रमा जलपन्छी कम देखिएको डगौंरा बताउँछन् । उनका अनुसार बन्दा तालमा पनि मिचाहा प्रजातिले पानीको सतह ढाकिएका कारण चराको संख्या कम देखिएको छ । उसो त मिचाहा प्रजातिसँगै भूक्षयका कारण निकुञ्ज भित्र र बाहिरका तालहरु साँघुरिदै गएका छन्