— एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाप्रति चिन्तित बनेको बताएका छन् ।
अध्यक्ष एवं आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ का उम्मेदवार रहेका ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्ताको केही प्रसंगमा भट्टराईले असहमति प्रकट गरेका हुन् ।
आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका थिए, 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । ...गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?'
यही विषयलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका छन् । 'मलाई धेरै सञ्चाचारकर्मीहरूले फोन गरेर यो विषयमा प्रतिक्रिया मागिरहनुभएको छ । फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो,' उनले भनेका छन्, 'यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।'
ताप्लेजुङबाट चुनाव जित्दै आएका भट्टराईले यसपालि टिकट पाएनन् । सो क्षेत्रमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट वितरणमा असहमति जनाउँदै भट्टराईले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका थिए ।