— कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए ।
‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न सकिएन । अर्को पटकदेखि तलै मतदान गरेर चयन गरिने छ,’ थापाले भने, ‘माघ ४ गते उम्मेदवार छान्न सुरु गरेर ६ गते दर्ता गर्नुपर्ने अवस्था भएकाले चाहेर पनि उम्मेदवारी छनोटमा समावेशी र सन्तुलन मिलाउन सकिएन ।’
उनले पार्टीका आकांक्षीहरुसँग सल्लाह नगरी गर्नुपर्ने बाध्यतामा परेकाले कमजोरी भएको बताए । व्यक्तिगत र संस्थागत रुपमा यसलाई सच्याउने उनले प्रतिबद्धता जनाएका छन् । 'भएका कमजोरीमाथि फेरि पनि छलफल गर्न सकिन्छ, अब एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन,' उनले भने ।
उनले २०७९ सालमा २७ लाखले मतदान गरेको भन्दै यसपटक अनुकूल परिस्थिति पनि भएको दाबी गरे । विगतमा कांग्रेस भएर रुखमा मात्र मत माग्न आउनु भनी मतदाताले भनेकाले यसपटक १६५ क्षेत्रमै रुखमा मात्र मतदान गर्न पाउने बताए । कांग्रेसलाई आफूहरुले बदलेको भन्दै सभापति थापाले हिजोको कांग्रेसभन्दा अब फरक भएको दावी गरे । 'पुरानो सबै खराब भन्ने होइन तर सुधार हुनुपर्ने कुराको सुरुवात भएको छ,' उनले भने ।
‘हामी सहजै रुपमा यहाँ आएका होइनौं । अहिलेको अवस्था सजिलो छैन । २४ घन्टाभन्दा कम समयमा निर्णय गर्नुपरेको कुरा सबै पार्टीका नेता र कार्यकर्ताले बुझेर एकजुट हुनुको विकल्प छैन,’ उनले भने ।