: धनुषामा बाली जोगाउन खेतमा लगाइएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतीय बारमा करेन्ट लागेर धनुषाधाम नगरपालिका–६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
स्थानीय रामचन्द्र महतोले आफ्नै खेतमा जंगली जनावरबाट बाली जोगाउने उद्देश्यले लगाएको विद्युतीय बारमा बिहीबार बिहान करिब पौने ११ बजे करेन्ट लागेर चन्देश्वरको मृत्यु भएको हो। चन्देश्वर रामचन्द्रकै खेतमा मजदुरी गर्न गएका बेला सोही विद्युतीय बारमा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।
घटनास्थलममा एउटा बाँदर पनि मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक केसीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।