— पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आबुँखैरेनी गाउँपालिका–२ नारीघाँटमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ जुम्लाङ निवासी करिब ६० वर्षीय दलबहादुर थापा मगर रहेको ईलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ८:१५ बजेको समयमा डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०२६८ नम्बरको सेतो रंगको मिनी ट्रकले पैदल हिँडिरहेका थापा मगरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका थापा मगरलाई उपचारका लागि तत्काल पुरानो सीएमसी अस्पताल, चितवन पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनी बोल्न नसक्ने अवस्थाका थिए । उपचारका क्रममा साँझ करिब ९:४० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका मिनी ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको आँवुखैरेनी प्रहरी बिट मुग्लिनपुलजिप तनहुँको चेकिङ टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षका बाबुलाल लो रहेका छन् ।