— विगत चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि युएईको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा शुक्रबारदेखि त्रिपक्षीय वार्ता सुरु भएको छ ।
अमेरिकाले द्वन्द्व अन्त्यका लागि अघि सारेको प्रस्तावमा रुस र युक्रेनका प्रतिनिधिबीच सुरु भएको छलफल दुई दिनसम्म चल्ने युएईको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युद्ध सुरू भएयता त्रिपक्षीय वार्ता भएको यो पहिलोपटक हो ।
युक्रेनले राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तेम उमरोभ, जनरल स्टाफ प्रमुख एन्ड्री हृनाटोभ र राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुडानोभलाई वार्ता टोलीमा समावेश गरेको छ ।
रुसी टोलीमा राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार युरी उसाकोभ, सैन्य अधिकारी एडमिरल इगोर कोस्ट्युकोभसहित उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी छन् । त्यसैगरी अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टेभेन विटकफ, ट्रम्पका ज्वाइा/सल्लाहकार जारेड कुशनरसहितको टोलीलाई पठाएको छ ।
शुक्रबार पहिलो दिनको वार्ता सीमा सम्बन्धी विवादमा केन्द्रीत रहेको बताइएको छ । रुसले युद्धपछि बनेको नयाँ सीमा र नयाँ यथार्थ स्विकार्दै युक्रेनी सेना डोनेट्स्क तथा लुहानस्क क्षेत्रबाट हट्नुपर्ने माग राखेको छ ।
त्यस्तै, युक्रेनले भविष्यमा कहिल्यै नाटोको सदस्यता नलिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने माग रुसको छ । आफ्नो भूभाग सुम्पने कार्य युक्रेनलाई मान्य नहुने युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले बताएका छन् । उनले भविष्यमा रुसले आक्रमण गर्दा पश्चिमा मुलुक र विशेषगरी अमेरिकाको साथ आवश्यक रहने औल्याएका छन् । यसका लागि आफ्नो पश्चिमा सहयोगीबाट सुरक्षा सुनिश्चितता चाहिने उनको माग छ ।
पहिलो दिन कुनै ठोस उपलब्धि नभएको रुसको सरकारी समाचार एजेन्सी तासले जनाएको छ । यता, वार्तामा सहभागी अधिकारीलाई उद्रृत गर्दै अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले छलफल प्रगतिउन्मुख रहेको जनाएको छ ।
विवादको केन्द्रमा डोन्बास क्षेत्र
युएईमा जारी वार्ताको हलो डोन्बास क्षेत्रको विषयमा पुगेर अड्किएको छ । यहाँ रूसले सन् २०१४ देखि नै सैन्य हस्तक्षेप निम्त्याइरहेको छ र सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले औपचारिक युद्ध सुरू गरेको थियो ।
अजोव समुद्र किनारको यो क्षेत्रमा युक्रेनका २४ ओब्लास्ट (प्रान्त) मध्ये दुई प्रान्त (डोनेट्स्क र लुहानन्स) पर्छन् ।
डोनेट्स्कमा झन्डै ७५ प्रतिशत र लुहानन्समा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ । जसले युक्रेनलाई खाद्य क्षेत्रको ठूलो वैश्विक निर्यातकर्तामध्ये एक बनाएको छ ।
२० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरु थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।
रुसले अहिले यो क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । बाँकी भूभागबाट युक्रेनी सेना हट्नुपर्ने माग शान्ति वार्ताका दौरान रुसले लिएको छ । १९९१ मा सोभियत युनियन टुक्रिएपछि युक्रेन स्वतन्त्र भएको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा रहन पाउने युक्रेनको अधिकारको अवमुल्यन गर्दै आएका छन् । उनले युक्रेन र युक्रेनी जनता इतिहासकालदेखि रुसको हिस्सा रहेको दाबी दोहोर्याइरहेका छन् ।
त्यस्तै रुसी भाषीमाथि युक्रेनमा जातीय संहार भइरहेको आरोप समेत लगाउँदै आएका छन् । तर, यसको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।
पुटिनको निर्देशनमा रूसी सेनाले डोन्बासबाट दक्षिणमा रहेको युक्रेनी भूभाग क्रिमिया सन् २०१४ को सुरुवातमै कब्जा गरेको थियो । त्यसपछि यहाँ 'नक्कली जनमत संग्रह' गराइयो र यसलाई रूसमा गाभ्ने काम गरियो ।
त्यसलगत्तै रुसले डोनेट्स्क र लुहानस्कमा पनि सैनिक हस्तक्षेप सुरु गर्यो ।
७ मेइ २०१४ मा डोनेट्स्कले आफु युक्रेनबाट अलग भएको दाबी गर्दै ‘जनगणतन्त्र डेनेटस्क ’ घोषणा गरेको थियो । ५ दिनपछि ‘जनगणतन्त्र लुहानस्क’ घोषणा भयो । यी सबै काम रुसको इशारामा भएकाले युक्रेन र बााकी विश्वले यसलाई मान्यता दिएनन् ।
रुसी राष्ट्रपति पुटिनले सन् २०२२ मा जनगणतन्त्र डोनेट्स्क र जनगणतन्त्र लुहानस्कलाई स्वतन्त्र देशको मान्यता दिदैं यसको रक्षार्थ रुसी सेना परिचालन गरिएको दाबी गरेका थिए ।
यस्तो दाबीसँग रुस–युक्रेन युद्ध सुरु भयो । यसरी पुटिनले यी दुई क्षेत्र लिनका लागि विगत १२ वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन् ।
तर, ठूलो संख्यामा रुसी सैनिकले ज्यान गुमाइसकेपनि मस्कोले अझै डोन्बास क्षेत्र पूर्णतः कब्जामा लिन सकेको छैन । अहिलेसम्म, लुहानस्कमा लगभग सबै इलाका र डेनेट्स्कमा झन्डै ७० प्रतिशत इलाकामा मात्रै रुसको कब्जामा छ ।
रुसी सेनाले यसबाट अघि बढ्नका लागि युक्रेनसँग लडाइँ गरिरहेको छ । युक्रेनले यी भूभाग नछाडे रुसले सैन्य बल प्रयोग गरेर भएपनि कब्जामा लिने पुटिनले बताउँदै आएका छन् ।
तर, मानवीय क्षति चर्को परिरहेको छ । नाटोका महासचिव मार्क रुट्टीले गत सातामात्रै यस क्षेत्रमा हरेक महिना २० हजारदेखि २५ हजार रुसी सेनाले ज्यान गुमाइरहेको दाबी गरेका थिए । यद्यपी रुसले यी विवरण सार्वजनिक गरेको छैन ।
रणनीतिक रुपमा पनि यो क्षेत्र महत्वपूर्ण छ । यहाँ रहेको मारिउपोल बन्दरगाहले ब्ल्याक सीसँगको पहुँच उपलब्ध गराउँछ । यहाँ रुसी भाषी जनसंख्याको बाहुल्यता भएकाले भावनात्मक रुपमा पनि रुसको सम्बन्ध यस इलाकासँग जोडिएको छ ।
युक्रेन के चाहन्छ ?
युक्रेनले आफ्नो भूभाग सुम्पने काम हुनै नसक्ने बताएको छ । तर, अमेरिकाले अघि सारेका विभिन्न योजामध्ये एक प्रस्ताव ‘जनमतसंग्रहमार्फत यस क्षेत्रको भविष्य निर्धारण गर्न सकिने’ थियो ।
‘आफ्नो भूभाग सुम्पने निर्णयमा युक्रेनीहरु मत खसाल्ने संभावना न्युन छ, तर यस्तो गरिहाले पनि उक्त कदम अन्तर्राष्ट्रिय कानुन विपरीत हुनेछ । कानुनले अर्को राज्यको इलाका कब्जा गर्नका लागि बल प्रयोग गर्न प्रतिबन्धित गर्छ,’ अमेरिकी सञ्चारमाध्यम सीएनएनले लेखेको छ ।
अहिले भइरहेको शान्ति वार्ताको प्रस्ताव पूर्णतः सार्वजनिक भइसकेको छैन । यद्यपी, गत डिसेम्बरमा अमेरिकाले युक्रेनको नियन्त्रण कायम रहेको डोन्बासको भूभागमा स्वतन्त्र आर्थिक क्षेत्र विकास गर्न सकिने प्रस्ताव राखेको थियो ।
युक्रेनमा सुरक्षा सुनिश्चितता प्राप्त भएमा यस्तो प्रस्ताव स्विकार हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले बताएका थिए । तर, यस प्रस्तावलाई रुसले स्विकार्छ वा स्विकार्दैन भन्ने स्पष्ट छैन ।
पछिल्ला महिनाहरूमा रुसले युक्रेनको राजधानी किभसहितका इलाकामा लगातार मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ । युक्रेनमा उर्जा केन्द्र तथा विद्युत प्रशारण लाइनहरूमा क्षति पुगेकाले धेरै इलाका अन्धाकारमा छन् । चिसोले जनजीवन कस्टकर छ ।
वार्ता चलिरहदाँ आक्रमण
वार्ताको टेबुलमा बसेपनि रूसले युक्रेनमाथि आक्रमण बन्द गरेको छैन । शनिबार रुसले विभिन्न शहरमा ड्रोन तथा मिसाइल हमला गरेको छ । किएभमा मध्यराति भएको रुसी आक्रमणमा परेर एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
त्यस्तै, खार्खिभमा १९ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरुले आक्रमणको निन्दा गरेका छन् । ‘यस आक्रमणले हाम्रा मानिसमात्रै होइन । शान्ति वार्तामाथिको पनि आक्रमण हो,’ युक्रेनका विदेशमन्त्री एन्ड्री साइबिहाले भने ।
आक्रमणमा परेर उर्जा केन्द्रहरुमा क्षति पुगेको छ । किएभमा झन्डै ६ हजार घरहरुमा हिटिङ सेवा बन्द भएको त्यहाँका मेयर भिटाली क्लिटस्च्कोले बताएका छन् । युक्रेनमा प्रायः सबै स्थानमा तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा कम छ । किएभमा शुक्रबार राति तापक्रम माइनस ११ डिग्री थियो ।