— सुदूरपश्चिमका पहाडी जिल्लामा ढिलो गरी यो वर्षको हिउँदे वर्षा भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात पनि भएको हो ।
वर्षा र हिमपातका कारण बझाङमा शुक्रबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ । चार महिना लामो खडेरीले हिउँदे बाली सुक्न लागेका बेला भएको वर्षाले किसानलाई भने राहत भएको छ ।
लामो खडेरीको चपेटामा परेका किसान हिउँदे वर्षा र हिमपातले हिउँदे बाली सप्रिने आशामा हर्षित भएका हुन् । ‘धेरैजसो बाली त खडेरीले सुकिसक्यो,' दुर्गाथलीको चुवावनका दीपक जाग्रीले भने, ‘माटो खरानी जस्तै भइसकेको थियो । हिउँ पर्दा केही ओसिलो भएको छ । थोरै भए पनि राहत भएको छ ।' उनले सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने चुवावन जस्तै उच्च पहाडी तथा हिमाली गाउँमा लगाएको गहुँ, जौं, केराउ, मुसुरोजस्ता हिउँदेबाली लामो खडेरीका कारण धेरैजसो सुकिसकेको बताए ।
बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपातसँगै जिल्लामा जाडो बढेको छ ।
बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । ‘ढिलै भए पनि धर्ती भिजेको छ । अब फागुनमा लगाउने बालीको लागि भए पनि यो वर्षाले राम्रो हुन्छ,' बाजुरा बडिमालिकाका मदनराज जोशीले भने, ‘हिमाली भेगमा अब आलु लगाउने समय हुँदै छ । यो हिमपातले आलुबाली राम्रो हुन्छ ।'
वर्षासँगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानियले जानकारी दिएका छन् ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपातका बेला समूहमा आगो ताप्ने, विभिन्न गेडागुडी मिसाएर भुम्ला (गेडागुडीको सुप) तथा फर्सी पकाएर खाने यहाँका स्थानीयको चलन छ ।