मुख्य समाचार
कोशीमा राष्ट्रियसभा निर्वाचन : २ सिटका लागि ३५९ मतदाता, गठबन्धन बलियो
कोशीमा राष्ट्रियसभा निर्वाचन : २ सिटका लागि ३५९ मतदाता, गठबन्धन बलियो

: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ।




मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला र दलित कोटातर्फ गरी दुई पदका लागि मात्र निर्वाचन हुन लागेको हो। अन्य समूहअन्तर्गतको एक पदमा भने विपक्षी दलतर्फबाट उम्मेदवारी नपरेपछि नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनका उम्मेदवार कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।


सुरुमा कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका तीन पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। गठबन्धनतर्फ एमालेका दुई जना र कांग्रेसका एक जना उम्मेदवार मैदानमा उत्रिएका थिए भने विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए। एमालेबाट दलित कोटातर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यक कोटातर्फ रोशनी मेचेले उम्मेदवारी दिएका थिए भने अन्य समूहबाट कांग्रेसका सुनीलबहादुर थापाले मनोनयन दर्ता गराएका थिए। विपक्षी नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन्।




अन्य समूहका नेकपा उम्मेदवार हेमराज घिमिरे तोकिएको समयमा उपस्थित नभएपछि उनको उम्मेदवारी दर्ता हुन सकेन। यही कारण अन्य समूहमा कांग्रेस-एमाले गठबन्धनका तर्फबाट कांग्रेसका थापा निर्विरोध निर्वाचित भएका हुन्। अब आइतबार महिला र दलित कोटाका दुई पदका लागि मात्र मतदान हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने संवैधानिक व्यवस्था छ। कोशी प्रदेशमा सुरुमा कुल ३६७ जना मतदाता रहेका थिए। तीमध्ये ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख थिए। तर, प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका र कानुनी रूपमा अयोग्य ठहर भएका केही जनप्रतिनिधि मतदाता सूचीबाट हटाइएपछि मतदाताको संख्या घटेको छ।

प्रदेशसभातर्फ ९३ सदस्यीय संरचनामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि प्रदेशसभा सदस्यको हैसियतमा उनको मतदान अधिकार स्वतः खारेज भएको छ। अब ९२ जना प्रदेशसभा सदस्यले मात्र राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

स्थानीय तहतर्फ सुरुका २७४ मतदातामध्ये प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छ जना र भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई कानुनी रूपमा अयोग्य ठहर भएका एक जना गरी जम्मा सात जना मतदान प्रक्रियाबाट बाहिरिएका छन्। यससँगै अब स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष गरी २६७ जनाले मात्र मतदान गर्न पाउने छन्।

स्थानीय तहका जनप्रतिनिधिमध्ये धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया एमालेका उम्मेदवार छन् भने इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका छन्।

त्यस्तै सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई नेकपाले र लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई एमालेले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका कारण उनीहरू सबै राष्ट्रियसभा निर्वाचनको मतदाता सूचीबाट हटाइएका हुन्।

यसरी मतदाता सूची परिमार्जन भएपछि कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अब कुल ३५९ जना मतदाताले मात्र मतदान गर्न पाउने भएका छन्। निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ।

मतभारको हिसाबले हेर्दा कोशी प्रदेशमा जसपा (जनता समाजवादी पार्टी)सहितको कांग्रेस-एमाले गठबन्धनको अवस्था अत्यन्तै बलियो देखिन्छ। प्रदेशसभा र स्थानीय तह दुवै तहको मतभार जोड्दा गठबन्धनको कुल मतभार ७ हजार ९ सय ८५ पुग्छ। जुन दुईतिहाइभन्दा धेरै हो। यसमध्ये एमालेको मतभार ४ हजार १ सय ७२, कांग्रेसको ३ हजार ६ सय ८४ र जसपाको १ सय २९ रहेको छ।

विपक्षी नेकपाको कुल मतभार १ हजार ५ सय ८५ मात्र छ । यसमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को १ हजार २ सय ५८ र नेकपा (एकीकृत समाजवादी)को ३ सय २६ मतभार समेटिएको छ। राप्रपाको ३ सय ४१ र स्वतन्त्र समूहको ५७ मतभार रहेको छ। अंकगणितीय हिसाबले हेर्दा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारविरुद्ध नेकपाका उम्मेदवारले परिणाम उल्ट्याउन निकै कठिन देखिन्छ।

संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको कार्यकाल समाप्त हुने व्यवस्था छ। यही व्यवस्थाअनुसार यसपटक निर्वाचनमार्फत १८ जना नयाँ सदस्य राष्ट्रियसभामा प्रवेश गर्नेछन्। कोशी प्रदेशबाट दलित कोटामा माओवादी केन्द्रका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल समाप्त हुन लागेकाले उनीहरूको स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचनमा सहभागी हुन कोशी प्रदेशभरिका स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसहित प्रदेशसभा सदस्यहरू प्रदेश राजधानी विराटनगरमा केन्द्रित भइसकेका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीको रामगोपालपुर-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ बालकहरू घाइते भएका छन्। आइतबार बिदाको मौका छोपी खेल्ने क्रममा सो घटना घटेको हो। मुख्यगेट भाँच्च्दिा स्थानीय विरेन्द्रकुमार यादवको वर्ष ७ को छोरा रबिन यादव, मनोज यादवको वर्ष ७ को गौतम यादव र शिवशंकर यादवको वर्ष ८ को दिपेश यादव रहेका छन्। उनीहरुमध्ये रबिनको ...
: स्याङजा निर्वाचन क्षेत्र २ का १२ जना उम्मेदवारमध्ये ३ जनाले मात्र आफ्नो जमानत सुरक्षित गरेका छन्। अन्य ९ जना उम्मेदवारले जमानत गुमाएका छन्। जमानत सुरक्षित बनाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले, नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल र नेकपा एमालेमा खिमबहादुर थापा हुन्। विजेता डुम्रेले २५ हजार ३५४ मत, उपविजेता मल्लले २० हजार ८३० तेस्रो स्थानका ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आजको सुनुवाइ सकिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउनेछ। अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै ...
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...