— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ ।
यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो ।
मिसनका बुवा मिथुन भमिक हुन् । उनी भारत पश्चिम बंगाल प्रदेशका नागरिक हुन् । मिसनलाई दिइएको नेपाली नागरिकतामा उनका बुवाको ठेगाना भारत पश्चिम बंगाल रहेको उल्लेख छ । मिसनकी आमा नेपाली संगीता गौतम हुन् । मिसन गौतमलाई अंगीकृत नागरिकता प्रदान गरिएको हो ।
बुवा विदेशी रहेको प्रमाणका आधारमा पनि नागरिकता दिन सकिने भन्ने पछिल्लो नागरिकता नियमावलीमा रहेको व्यवस्था अनुसार उनलाई नागरिकता दिइएको अर्यालले जानकारी दिए । आमा नेपाली रहेको र बुवाको अत्तोपत्तो नभएको व्यक्तिले समेत संशोधित नियमावली अनुसार नागरिकता पाउने व्यवस्था रहेको अर्यालले जानकारी दिए ।