मुख्य समाचार
चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी, ३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार
चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी, ३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार

। चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा बीमाको रकम हत्याउन चार्टर फ्लाइटलाई रेस्क्यु देखाइएको प्रमाण फेला परेको हो ।

सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । सीआईबीका प्रमुख तथा निर्देशक (अतिरिक्त प्रहरी महानिरीक्षक, एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई रेस्क्यु देखाएको भेटिएको बताए ।




‘चार्टर फ्लाइटलाई समेत रेस्क्यु देखाएर बीमाको रकम लिएको देखिन्छ । यो रेस्क्यु नभएर फेक रेस्क्यु (नक्कली उद्धार) हो,’ एआईजी केसीले भने ।

यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेकोसमेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको एआईजी केसी बताउँछन् ।






कतिसम्म भने, एउटै चार्टर फ्लाइटमा आएका धेरै जना पर्यटकलाई समेत छुट्टाछुट्टै र फरकफरक समयमा रेस्क्यु गरेको भन्दै (सिंगल फ्लाइट, मल्टिपल बिलिङ) दाबी गर्ने गरेको समेत अनुसन्धानमा देखिएको एक अधिकारी बताउँछन् ।

पदयात्रा सकिएपछि सोही रुट हुँदै फर्कने पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमा काठमाडौं पुर्‍याउने गरेको भेटिएको छ ।

पछिल्लो पटक १ पुस २०८१ मा समेत पर्यटकको नक्कली उद्धारको कारबाही गरिपाउँ भन्दै सीआईबीमा उजुरी आएको थियो । यो भन्दा अघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी आएको थियो ।

यही पुसमा पनि गृह मन्त्रालयले फेक रेस्क्युको उद्धार गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।

विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ-ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।

सीआईबीले सन् २०२२ देखि यता भएको फेक रेस्क्युमा संलग्नहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

६ जना पक्राउ

पछिल्लो साढे दुई महिनादेखि छुट्टै कार्यदल बनाएर सीआईबीले फेक रेस्क्युबारे अनुसन्धान गरेको थियो । बिदाको दिनसमेत अनुसन्धान गर्दै साढे दुई महिनापछि यसबारे सीआईबीले जानकारी गराएको हो ।

सीआईबीका अनुसार फेक रेस्क्यु गरेर बीमाको रकम हत्याउने कार्यमा संलग्न भएको आरोपमा अहिले ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।

३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार

पक्राउ परेका ६ जना तीन कम्पनीमा आबद्ध व्यक्तिहरू हुन् । यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ ।

माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् ।

‘यो प्रारम्भिक अनुसन्धानको विवरण हो । थप बढ्न सक्ने सम्भावना पनि छ,’ ती अधिकृत भन्छन् । १७१ जनाको नक्कली उद्धार गरेर बीमा वापतको १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर यो कम्पनीले लगेको देखिएको छ ।



त्यसैगरी नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेको छ । जसमध्ये ७५ जनाको उद्धार भने नक्कली देखिएको छ । त्यसवापत बीमाको ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर बुझेको देखिएको छ ।

एभरेस्टले भने ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ ।

अहिलेसम्मको अनुसन्धानबाट यी तीन कम्पनीले नक्कली उद्धारमार्फत बीमा वापतको १९.६९ मिलियन डलर बुझेको सीआईबीको दाबी छ ।

बीमा कम्पनीले रोके प्रिमियम

नक्कली उद्धार बढेपछि पर्यटकको बीमा गर्ने कम्पनीहरूले प्रिमियमसमेत रोक्न थालेको सीआईबीका अधिकारीहरूको भनाइ छ । अहिले पनि नक्कली उद्धार भएको भन्दै बीमा कम्पनीहरूले सीआईबीमा जानकारी गराएका छन् ।

जसमध्ये अहिले तीन वटा कम्पनीले बीमाको प्रिमियम नै रोकेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् । ‘नक्कली उद्धार बढेपछि बीमा कम्पनी घाटामा हुने भए । जसका कारण अहिले तीन कम्पनीले त बीमाको प्रिमियम नै रोकेका छन्,’ ती अधिकृत भन्छन् ।

धेरै रेस्क्यु गरेको भन्दै बीमा कम्पनीमा रकम दाबी गरेको भेटिएको छ । तीमध्ये केही बीमा दाबी भने बीमा कम्पनीले फिर्ता गरेकोसमेत भेटिएको छ ।

के हुन्छ सजाय ?

सीआईबीले पहिलो चरणा नक्कली उद्धारमा प्रत्यक्ष संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । उनीहरूमाथि संगठित अपराधदेखि किर्ते, राज्यविरुद्धको कसुरलगायतमा अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा ५१ को राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जहाँ कसैले पनि राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न नहुने उल्लेख छ । त्यसैगरी दफा २४९ अनुसारको ठगीमा पनि अनुसन्धान हुने सीआईबीको भनाइ छ ।

यसका साथै दफा २५३ को आपराधिक लाभ लिन नहुने कसुर, दफा २७६ को लिखतसम्बन्धी कसुरमा अनुसन्धान हुनेछ ।

लिखत किर्तेमा रिपोर्ट र हेलिकप्टरको बिल बनाउने, ठगीमा बीमा कम्पनीलाई नक्कली बिल पेस गर्ने, राज्यविरुद्धको कसुरमा भने पर्यटकलाई लेक लाग्ने डर देखाई नक्कली उद्धार गरी बीमा दाबी गर्दै अन्तर्राष्ट्रिय छबी नै धुमल्याएको बताइएको छ ।

संगठित कसुर पनि आकर्षित हुने भन्दै यसलाई ट्रेकिङ ऐजेन्सी, अस्पताल, हेलिकप्टर कम्पनीहरूको मिलेमतोको रूपमा लिइएको छ । पक्राउ परेकाहरूविरुद्ध सम्पत्ति सुद्धीकरणको कसुर पनि आकर्षित हुन्छ ।

कसरी हुन्छ फेक रेस्क्यु ?

नेपालका आउने पर्यटकहरूले इन्सुरेन्स (बीमा) गर्ने गर्छन् । उच्च हिमाली क्षेत्रमा जाने भएपछि उनीहरूले बीमा गर्छन् । यसरी हिमाली क्षेत्रमा जाने पर्यटकको बीमा पोलिसीबारे सुरुमा ट्राभल एजेन्सीहरूले जानकारी लिने काम गर्छन् । यसको बीमा पोलिसी यकिन भएपछि बल्ल नक्कली उद्धारको प्लट रच्न सुरु हुने बताइन्छ ।

उच्च हिमाली क्षेत्रमा पुगेपछि देखिने सामान्य लक्षणलाई समेत पर्यटन गाइडले बढाइचढाइ गरी पर्यटकलाई अत्याउने काम गर्ने र त्यसपछि हेलिकप्टर माग गर्न लगाई नक्कली उद्धार गर्ने गरेको पाइएको सीआईबीले बताएको छ ।



सामान्य उचाइबाट केही तल झर्ना साथै आफैं ठिक हुने अवस्थालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि अस्पताल पठाउने प्रवृत्ति देखिएको छ । त्यसका लागि पनि आफू अनकूलको निश्चित अस्पताल पठाउने गरिएको सीआईबीका एआईजी केसी बताउँछन् ।

त्यसपछि रेस्क्यु कम्पनी र अस्पतालले फरकफरक वा एकमुस्ट रकम इन्स्योरेन्स कम्पनीसँग माग गर्ने गरेको पाइएको छ ।

पुराना फेक रेस्क्युको प्रमाण भेट्न मुस्किल

सीआईबीले अहिले सन् २०२२ देखि यता भएका फेक रेस्क्युको अनुसन्धान गरेर ६ जनालाई पक्राउ गरेको हो । तर यसभन्दा अघि पनि फेक रेस्क्यु हुने गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । सन् २०१८ तिरै उजुरी परे पनि त्यतिबेलाका फेक रेस्क्युको प्रमाण भने भेट्न गाह्रो रहेको सीआईबीले बताएको छ ।

२०७४ को भदौमा ट्राभलर असिस्टले करिब ३५ प्रतिशत नक्कली उद्धार रहेको बताएको थियो । २०७४ को फागुनमै पदयात्रीको खानामा मिसावट गरी कृत्रिम बिरामी बनाउने र हेलिकप्टरमार्फत रेस्क्यु लिई कमिसन खाने गरेको विषय बाहिर आएको थियो ।

त्यसपछि २०७५ असारमा पर्यटन मन्त्रालयको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा फेक रेस्क्युबारे थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने भनिएको थियो । फेक रेस्क्यु देखिएको भन्दै ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ समेत लागु‍ भएको थियो । तर त्यतिबेलाका यी घटनाहरूको प्रमाण अहिले नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तो फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवी, प्रतिष्ठा र स्वाभिमानमा समेत असर पर्ने बताइएको छ । पर्यटकका लागि ‘नो गो डेस्टिनेसन’ बन्न सक्ने जोखिम देखिएको सीआईबीले औंल्याएको छ ।

फेक रेस्क्युले वास्तविक उद्धारको पखाइमा बसेका पर्यटकको ज्यानसमेत जान सक्ने देखिएको सीआईबीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम