: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन्। पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्।
उनीहरूमाथि राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। सीआईबीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको छ।
सीआईबी प्रमुख मनोज केसीले फेक रेस्क्युमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको बताए।
सीआईबी प्रमुख केसी भन्छन्, ‘पक्राउ परेका व्यक्तिकै संलग्नतामा पर्यटकलाई उद्धारको बहानामा फेक रेस्क्यु गर्नु, नियोजित रूपमा एउटै अस्पतालमा उपचारका लागि लैजानु, ट्राभल एजेन्सी र हेलिकोप्टर कम्पनीहरूको मिलेमतोमा बीमा दाबी गर्नकै लागि फेक बिरामी बनाउने लगायतका कार्य गर्दै आएका थिए।’
फेक रेस्क्यु प्रकरण आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सीआईबीले सघन अनुसन्धान गरेको थियो। आइतबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख केसीले साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान गरिएको जानकारी दिएका थिए।
अनुसन्धानका क्रममा उनीहरूले फेक र नक्कली कागजात बनाएर बीमा दाबी गरी करोडौं ठगी गर्ने गरेको खुलेको छ। माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ। त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यु गर्दा ७५ जनाको फेक रेस्क्यु गरेको खुलेको छ। उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलेको छ। एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरेको पाइएको हो। उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको अनुसन्धानमा खुलेको छ।
पर्यटकको उद्धारका नाममा ठगीमा संलग्न ट्राभल एजेन्सी, हेलिकोप्टर कम्पनी, अस्पताललगायतलाई कारबाही गरिने सीआईबीले बताएको छ। प्रहरीले पटक–पटक यो प्रकरणमा अनुसन्धान अघि बढाउन खोजे पनि माथिल्लो तहको दबाबका कारण यो फाइल खोलिएको थिएन। प्रहरीले पहिलो पटक फेक रेस्क्यु प्रकरणमा अनुसन्धान अघि बढाएको हो।
उनीहरूले एउटै नियमित वा चार्टरबाट ५ जनासम्म ल्याई फरक–फरक रेस्क्यु गरेका थिए। यसरी फेक रेस्क्युबाट करोडौँको बीमा दाबी गरेको प्रमाण प्रहरीले भेटाएको छ। एउटै स्थानबाट चार्टरमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुट्टै स्थानबाट फरक–फरक समयमा रेस्क्यु गरेको भन्दै फाइदा उठाउने गर्थे। फेक रेस्क्युमा संलग्नमध्ये बीमा कम्पनीमा दाबी गर्नेहरूलाई अहिले कारबाहीको दायरामा ल्याइएको जानकारी दिँदै केसीले यसमा अन्य धेरै संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको बताए।
सीआईबी प्रमुख केसीले फेक रेस्क्युका कारण आर्थिक लाभ मात्रै नभई नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधा समेत बन्द हुन सक्ने अवस्था आउने जानकारी दिए।