: ओखलढुंगामा शृङ्खलाबद्ध हत्या र लुटपाटका तीन घटना भएका छन्। करिब पाँच महिनाको अवधिमा भएका तीन घटनामा ५ जनाको हत्या भएको हो। हत्यासँगै धनमाल लुटपाट भएको छ।
सबै घटनामा राति अपरिचित समूहले गरेर पैसा सुन लुटपाट गरेको पाइएको छ। यसले जिल्लामा त्रास बढेको छ। सोमबार राति चिशङ्खुगढी–६ भदौरेको बोहोरे टोलमा राई दम्पतीको हत्या तथा लुटपाट भएको प्रहरीले जनाएको छ। ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गए राति हत्या भएको हो।
एक महिनाअघि पनि एक मगर दम्पतीको हत्या र लुटपाट भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा पतिको र पत्नीको शव भेटिएको हो। उनीहरूको हत्या भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो। घटना बारेमा जानकारी पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। उनले भने, ‘घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।’
गत १५ पुसमा भदौरेको गैरीगाउँमा मगर दम्पत्तिको लुटपाटपछि हत्या गरिएको थियो। त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका-४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की)को पनि हत्या गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आम नागरिकमा त्रास पैदा भएको छ। शृङ्खलाबद्ध रूपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ। गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन्।
यो घटनाका अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। यसअघि ३ जना हत्या गर्ने गिरोह भने प्रहरीले पक्राउ गरेको छ।
घटनापछि चिशंखसगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले गहिरो अनुसन्धान गर्न र नागरिकको सुरक्षाको अनुभूति दिने व्यवस्था गर्न माग गरेका छन्।