: नेपाल- भारत खुला सीमाका कारण तस्कर समूहले धनकुटाको मुलघाट र भेडेटार नाका प्रयोग गर्दै भारततर्फ गाँजा लैजाने गरेको पाइएको छ । सोमबार राति ९:३० बजे अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले सुनसरीको इनरुवा नगरपालिका–६ भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गरिरहेको थियो । सोही क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई रोक्न खोज्दा चालकले नरोकी फरार हुन खोजेपछि अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको सहयोगमा इनरुवा–४ मा गाजा सहितको अटो नियन्त्रणमा लिइएको छ ।
अटो चेकजाँच गर्दा लागू औषध गाजा ९९.१ केजी फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अटो चालक धनकुटा चौबिसे गाउँपालिका–७ निवासी २५ वर्षीय साजन लिम्बु र सोही अटोमा सवार १९ वर्षीय गगन लिम्बुलाई गाजा र अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिए ।
स्थानीयका अनुसार धनकुटाका ग्रामीण भेगमा गाँजा उत्पादन र ओसारपसार खुलेआम भइरहँदा पनि त्यहाँको प्रहरी प्रशासन मौन बसिरहेको आरोप छ । खुला सीमा र कमजोर निगरानीकै कारण गाजा तस्कर समूह दिनहुँजसो सक्रिय भइरहेका छन् ।
सुनसरी प्रहरीले भने पछिल्लो समय गाजा तस्करीविरुद्ध कडाइ बढाउँदै दैनिकजसो तस्कर समूहलाई पक्राउ गरिरहेको एसपी थेबेले बताए । तर धनकुटा प्रहरीको कमजोरी र सीमावर्ती नाकामा प्रभावकारी नियन्त्रण नहुँदासम्म गाजा तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसक्ने सरोकारवालाहरूको भनाइ छ ।