— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ ।
मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल पुगेको हो ।
न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तीनै सेटमा प्रभावशाली प्रदर्शन गरेको न्यु डायमन्डले २५–११, २५–१९, २५–२० ले खेल आफ्नो पक्षमा परेको हो ।अपराजित न्यु डायमन्डले ३ खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अर्कोतर्फ, पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोर्नुपरेको छ । यो हारले च्याम्पियनसिपमा पुलिसको उपस्थिति कमजोर बनेको छ ।
अब फाइनलको दोस्रो टोलीका लागि एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिस क्लबबीच होड रहनेछ । बाँकी खेलको नतिजाले फाइनलमा न्यु डायमन्डको प्रतिद्वन्द्वी तय गर्नेछ ।
मंगलबार पाहुना टोली थाइल्यान्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा सहज जित निकाल्दै आफ्नो अभियान कायमै राखेको छ । थाइ टोलीले २५–११, २५–२१, २५–१६ ले नतिजा निकाल्यो । पहिलो खेलमा एपीएफसँग पाँचौं सेटमा पराजित थाइल्यान्डले त्यसपछिका दुवै खेलमा जित निकालेको छ । त्रिभुवन आर्मी क्लबको अभियान भने निराशाजनक रह्यो । सबै खेलमा हार बेहोरेको छ ।
पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । गण्डकीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले २५–२२, २५–२०, २५–१४ ले नतिजा निकालेको थियो । गण्डकीको जितले टिमलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ ।
अर्को खेलमा पर्वत जिल्ला भलिबल संघले अपराजित यात्रा कायम राखेको छ । लगातार तेस्रो जित निकाल्दै क्रममा पर्वतले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सोझो सेटमा सफलता पायो । टिपटप हेल्प नेपालसहित तीन पाकिस्तानी खेलाडी लिएर कोर्टमा उत्रिएको पर्वतले २५–१७, २५–१८, २५–१६ ले सेट जितेको थियो । पर्वतले यसअघि नेपाल पुलिस क्लब र एपीएफ क्लबलाई पराजित गरेको छ । टोलीको टिमवर्क, उत्कृष्ट स्पाइकिङ र बलियो डिफेन्सले उनीहरूलाई प्रत्येक खेलमा विजयी बनाइरहेको छ । लगातार चौंथो हार बेहोरेको माल्दिभ्सको कमजोर प्रदर्शनले टोली पुछारमा छ ।
बुधबार चार खेल हुनेछ । महिलातर्फ एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि महिलातर्फ नै न्यु डायमन्ड स्पोटर््स क्लबले थाइल्यान्ड क्विन्सविरुद्ध खेल्नेछ । पुरुषतर्फ नेपाल पुलिस क्लब र माल्दिभ्स तथा एपीएफ र आर्मी क्लबबीच खेल हुने तालिका छ ।