— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीको श्रमस्वीकृतिमा विभेद गरेको छ । श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्नेलाई श्रमस्वीकृति दिन थालेको छ । घरेलु श्रमिकलाई श्रमस्वीकृति दिन भने रोकेको छ ।
इराकमा कार्यरत नेपालीलाई बिदामा आई पुनः इराक फर्केर काम गर्न इच्छुकको अभिलेखीकरण गरी श्रमस्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । तर श्रम मन्त्रालयले कम्पनीमा मात्रै काम गर्ने श्रमिकलाई श्रमस्वीकृति दिन थालेको छ, घरेलु श्रमिकलाई दिएको छैन ।
गत ११ पुसमा मन्त्रिपरिषद् बैठकले इराकमा रेसिडेन्सी कार्ड पाएका नेपालीलाई अभिलेखीकरण गर्न श्रमस्वीकृति दिने निर्णय गरेको थियो । ‘आधिकारिक भिसा (रेसिडेन्सी कार्ड) प्राप्त गरेका नागरिकले नेपाल आएका बखत उक्त रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रमस्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा लेखिएको छ ।
गैरआवासीय नेपाली संघ, इराकले पनि वैदेशिक रोजगार विभागबाट विभेद गरेको जनाएको छ । ‘हामीले जो नेपाली इराकमा छन्, जसले नियमित काम गरिरहेका छन्, उनीहरू सबैलाई श्रमस्वीकृति दिनुपर्छ भन्ने माग राखेका थियौं । मन्त्रिपरिषद्को निर्णयमा पनि रेसिडेन्सी कार्ड प्राप्त गरेकालाई श्रमस्वीकृति दिने स्पष्ट निर्णय छ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘विभागले नेपाली नागरिकमाथि नै विभेद गर्ने काम गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा नभएको विभेद विभागले कार्यान्वयनमा देखाएको छ ।’
इराकमा रहेका नेपालीका तर्फबाट पटकपटक श्रम मन्त्रालय र विभागलाई यसबारे ध्यानाकर्षण जनाए पनि सुनुवाइ नभएको श्रेष्ठले बताए । ‘मैले श्रमस्वीकृति पाएँ । म कम्पनीमा काम गर्छु । तर, मैसँग आवेदन दिएको अर्काे नेपालीले श्रमस्वीकृति पाएन । यसले हामीलाई हर्षित बनाएको छैन,’ उनले भने, ‘जब घरमा काम गर्ने श्रमिकले सबै सुविधा पाएको छ, ऊ आफूलाई सुरक्षित महसुस गरी त्यही घरमा काम गर्न जान तयार छ भने सरकारले यसलाई सहजीकरण गर्नुपर्छ ।’
एनआरएनए इराकका अनुसार ३० हजार नेपाली कार्यरत छन् । त्यसको ८० प्रतिशत नेपाली महिला घरेलु श्रमिकको हैसियतमा काम गर्छन् । श्रम मन्त्रालयले एक वर्षअगाडि नै भिजिट भिसा लिई वैदेशिक रोजगारीमा गएकालाई श्रमस्वीकृतिको दायरामा ल्याउन स्वीकृति दिने भन्दै वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि संशोधन गरेको थियो । कार्यविधिले २०२४ सेप्टेम्बर ३० सम्म भिजिट भिसामा गएकालाई दूतावास र विभागबाट श्रमस्वीकृति दिने व्यवस्था गरेको थियो । यसले घरेलु श्रमिकलाई समेत सम्बोधन गरेको थियो ।
श्रम मन्त्रालयले पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउन श्रमस्वीकृति प्रदान गर्न कार्यविधि संशोधन गरेको जनाएको थियो । इराक र इराकको स्वशासित राज्य कुर्दिस्तानमा प्रतिष्ठान (कम्पनी) मा काम गर्नेलाई श्रमस्वीकृति दिइएको वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले बताए । ‘घरेलु श्रमिकको विषयमा अझै स्पष्ट बोलेको छैन । यसमा हामीले मन्त्रालयसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘घरेलु श्रमिकलाई श्रमस्वीकृति दिन बनाइएको निर्देशकामा इराक छैन । यसलाई संशोधन गरी इराक थप्नुपर्ने देखिएको छ ।’
इराकको स्वशासित राज्य कुर्दिस्तानको सुलेमानीमा एक इराकीको घरमा १२ वर्षदेखि काम गरिरहेकी ताप्लेजुङकी ३५ वर्षीया मीना मगरले नेपालमा सेटिङ मिलाउन नसक्दा आफू घर नफर्केको बताइन् । ‘बिदा लिएर नेपाल फर्कियो भने फेरि इराक आउन मिल्दैन, सेटिङ मिलाउनुपर्छ । सेटिङ मिल्छ भन्ने ग्यारेन्टी छैन । श्रमस्वीकृति लिएर फर्किन पाउने भए एक महिनाको छुट्टीमा घर जान हुन्थ्यो ।’ अहिले उनको मासिक तलब ७ सय डलर पुगेको छ । रोजगारदाताले बाआमा भेटेर आऊ भन्दा पनि आफू नेपाल फर्किन नपाएको उनको गुनासो छ ।