— सुनसरी क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरी–१ ले मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी समग्र तयारीबारे जानकारी दिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अधिकृत दिव्यराज अधिकारीका अनुसार सुनसरी–१ अन्तर्गत ४१ मतदानस्थलमा १६१ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा कुल १ लाख ५० हजार ३९३ मतदाता छन् । निर्वाचन क्षेत्रभित्र धरान उपमहानगरपालिकाका २० वटा वडा, बराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ५ सम्म तथा रामधुनी नगरपालिकाका वडा नं ६ र ७ समावेश छन्।
माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कर्मचारी नियुक्त गरिएको थियो । माघ ३ मा सर्वदलीय बैठक बसेको र सो निर्णयअनुसार माघ ४ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको उनले बताए। उक्त बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति गरेको जनाइएको छ ।
निर्वाचनका लागि १ सय ६१ मतदान अधिकृत, १ सय ६१ सहायक मतदान अधिकृत, ४ सय ८३ सहायक कर्मचारी, १६१ सहयोगी कर्मचारी र ४८३ स्वयंसेवक गरी कुल १ हजार ४ सय ४९ जना कर्मचारी खटाइने छन्। सुरक्षाको व्यवस्था भने जिल्ला सुरक्षा समितिले गर्ने जनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पार्टीतर्फबाट १९ जना र स्वतन्त्रतर्फबाट ७ जना गरी कुल २६ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।मनोनयन दर्ता गर्ने उम्मेदवारमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भूपी राई ज्येष्ठ उम्मेदवार रहेका छन्।
मनोनयन प्रक्रियाका क्रममा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माघ ९ गते सबै २६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो ।
अधिकृत अधिकारीका अनुसार उम्मेदवार तथा उनीहरूका प्रतिनिधिसाग आचारसंहिता सम्बन्धी अन्तरक्रिया, मतदान केन्ऽहरूको अनुगमन तथा निरीक्षण, सम्भावित समस्या पहिचान र समाधानका उपाय अवलम्बन गर्ने कार्य अघि बढाइने बताए । उनले भने ‘आवश्यक सामग्री व्यवस्थापनसहित निर्वाचनसम्बन्धी दैनिक कार्यहरू निरन्तर रूपमा भइरहेको छ ’।
निर्वाचनको लागि फागुन ४ गतेदेखि मात्र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार र घरदैलो गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । अहिले राजनीतिक दल वा उम्मेद्वाहरुले एक दुई जना गएर आˆना मतदाताहरुलाई भेटघाट गर्न मात्र पाउने र ‘फागुनको ४ गतेदेखि फागुन १८ गते १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने निर्वाचन अधिकृत घिमिरेले बताए ।