— कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियान थाल्ने गर्छन् । अघिल्लो वर्ष इलाम–१ को उपनिर्वाचनताका कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म धर्मगुरु भेट्न लारुम्बा पुगेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि दिवंगत एमाले नेता सुवास नेम्वाङसम्मका वरिष्ठ नेताहरू चुनावमा ‘जित सुनिश्चित’ गर्न लारुम्बा पुग्ने परम्परा निकै पुरानो हो । पूर्वप्रधानमन्त्री केपी ओली त वर्षेनि गुरुसँग ‘आशीर्वाद’ लिन जाने गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचन ताका ओली पूर्वसभामुखसहित लारुम्बा पुगेका थिए ।
झापा-५बाट आठौं पटक प्रतिनिधिसभा उम्मेदवार बनेका ओलीभन्दा अगाडि नै सोही क्षेत्रमा उम्मेदवारी दर्ता गराएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह धर्मगुरुको 'चरण'मा पुगेका थिए । बालेन्द्रले ओलीलाई लारुम्बा यात्रामै ‘उछिनेर’ भेटघाट पूरा गरेपछि राजनीतिक तहमा थप चासो पैदा भएको छ ।
राजनीतिकर्मीहरूको तीर्थस्थलजस्तै मानिन्छ, माङ्सेबुङ–लारुम्बा क्षेत्र । धर्मगुरु आत्मनन्द लिङ्देनको ‘आशीर्वाद’ लिन जानु यहाँको चुनावी संस्कृतिको अघोषित, तर अविच्छिन्न अभ्यास बनेको छ । अब त्यसै परम्पराको नयाँ हिस्सेदार बनेका छन्, बालेन्द्र पनि ।
लारुम्बा लामो समयदेखि पूर्वी पहाडको राजनैतिक परम्पराको एक महत्त्वपूर्ण ‘धार्मिक शक्ति केन्द्र’ रहँदै आएको छ । स्थानीय समुदाय, धार्मिक संरचना र चुनावी मनोविज्ञानबीचको अन्तर्सम्बन्ध यहाँ यति गहिरो छ कि उम्मेदवारहरूका लागि धर्मगुरुसँगको भेटघाट चुनावी अभियानको अनौपचारिक शुभारम्भसरह मानिन्छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनका अनुयायी इलामका फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुली आसपासका क्षेत्रमा मात्रै सीमित छैनन् । उनीहरूको उपस्थिति झापा–५ मा पनि उल्लेख्य छ । जहाँ यसपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र चुनावी मैदानमा छन् ।
यही प्रभावको कारण, दशकौंदेखि यस क्षेत्रमा चुनाव लड्ने प्रमुख नेताहरू लारुम्बा पुगेर आशीर्वाद लिनु परम्परा जस्तै बनिसकेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, दिवंगत नेता तथा पूर्वसभामुख सुवास नेम्वाङदेखि लिएर एमाले अध्यक्ष ओलीसम्मका शीर्ष नेताहरूले धर्मगुरुको भेटलाई ‘चुनावी शुभ संकेत’ को रूपमा ग्रहण गर्दै आएका छन् । विशेषतः ओली त हरेक वर्ष धार्मिक कार्यक्रमका नाममा वा विशेष भेटघाटका लागि लारुम्बा जाने गर्छन् । आठौँ पटक यो क्षेत्रमा उम्मेदवार बनेका ओली हरेक पटक लारुम्बा जाने गरेका छन् ।
यसपटक चाहिँ ओलीलाई बालेन्द्रले उछिने । बालेन्द्रले झापा–५ मा मनोनयन दर्ता गरेकै दिन लारुम्बा पुगेर धर्मगुरुसँग भेटघाट गरेका हुन् । ‘आर्शीवाद’ ग्रहण गर्न आएँ,’ धर्मगुरुसँगको भेटमा बालेन्द्रले भनेका थिए,‘देशको सेवा गर्न पाऊँ ।’
जवाफमा धर्मगुरु आत्मनन्दको प्रतिक्रिया थियो,‘प्रधानमन्त्री भएर मेरो घरमा आउनू ।’ कोशी प्रदेशको नामकरणका कारण पहिचानवादी समुदायको असन्तोष अझै छ । किरात समुदाय विशेषतः असन्तुष्ट छ । धर्मगुरु स्वयंले पनि नामकरण प्रक्रियाप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् । ठीक यही बेला बालेन्द्रले धर्मगुरुसँगको निकटता प्रदर्शन गर्ने कुरालाई महत्त्वका साथ हेरिएको छ ।
झापा-५ मा उम्मेदवारी दर्ता भएपछि लारुम्बा मात्र होइन, बालेन्द्र ताप्लेजुङको पाथिभरा र त्यसअघि नै जनकपुरको राम–जानकी मन्दिरसम्म पुगेर दर्शन गरेका थिए ।