— रुसले युक्रेनको उत्तरीपूर्वी खार्किभ क्षेत्रमा मंगलबार यात्रुवाहक रेलमा ड्रोन आक्रमण गर्दा कम्तीमा ५ जना मारिएका छन् । त्यस्तै केही व्यक्ति घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार २०० भन्दा बढी यात्रु यस रेलमा सवार थिए । रेलको एउटा डिब्बामा ड्रोन आक्रमण भएको थियो भने अन्य दुई ड्रोन रेल नजिकै पड्किएका थिए । उक्त डिब्बामा १८ जना सवार रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
युक्रेन राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले यस घटनाको निन्दा गरेका छन् । उनले सर्वसाधारणमाथि भएको यस आक्रमणलाई ‘आतंकवाद’ को संज्ञा दिए ।
रुसले आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । पछिल्ला दिनमा रुसले उर्जा तथा यातायत पूर्वाधारमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ । युक्रेनमा रुसी आक्रमणका कारण उर्जा केन्द्रहरुमा क्षति पुग्दा धेरै ठाउँमा विद्युत कटौती भएको छ । जाडोमा हिटिङ प्रणाली बिग्रदाँ जीवन कस्टकर बनेको छ ।