। विभिन्न अनियमिततामा मुछिएको एवं पदीय आचरणविपरीत काम गरेको आरोपमा गुठी संस्थानले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपति बज्र लामालाई पदमुक्त गरेको छ ।
भूमि व्यवस्थामन्त्री डा. कुमार इङ्नामले आफूकहाँ उजुरी परेपछि छानबिन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए । गुठी संस्थानको गत शुक्रबारको बैठकले भूपति बज्रलामालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
गुठी संस्थानले उनीमाथि मुख्य रूपमा चारवटा आरोप लगाएको छ । नियुक्त भएपछि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको, गुम्बामा नबसेको तथा पदीय आचरणविपरीत काम गरेको भन्ने आरोपका आधारमा संस्थानले उनलाई पदमुक्त गरेको हो ।
पदमुक्त गर्नुअघि उनलाई संस्थानले स्पष्टीकरण सोधेको थियो । जवाफमा लामाले आफूमाथि विभिन्न सञ्चारमाध्यम र अरुले अपुष्ट लाञ्छना लगाएको आरोप लगाएका थिए ।
उनीमाथि नियुक्तिका लागि तत्कालीन भूमि, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई घुस बुझाएर चिनियाँ लामा पद लिएको आरोप लागेको थियो । उनीसँग नेपाल र हङकङको परिपत्र भेटिएको भनी मन्त्रालयले गुठी संस्थानलाई छानबिन गर्न भनेको थियो ।
गत पुसको अन्तिम साता मन्त्री इङनामले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बौद्धस्थित स्तुपाहरूमा भक्तालुहरूलाई पठाउने क्रममा ‘चिनियाँ लामा’ले ५/१० हजार रुपैयाँ घुस लिने गरेको उजुरी आएको बताएका थिए ।
‘धार्मिक थलोमा आस्थाअनुसार पूजा गर्न जाँदा पनि पैसा उठाउने विकृति फैलिएको रहेछ,’ मन्त्री इङनामले सञ्चारकर्मीहरूसँग उनले भनेका थिए, ‘चिनियाँ लामा बन्नका लागि अहिले पदमा रहेका व्यक्तिले पूर्वमन्त्रीलाई पाँच करोड रुपैयाँ घुस बुझाएका रहेछन् ।’
मन्त्री इङनामले ओली सरकारको पालामा मन्त्री भएका बलराम अधिकारीलाई रकम बुझाएकोबारे आफूकहाँ उजुरी परेको र त्यसको सोधपुछ चलिरहेको बताएका थिए ।
बौद्धनाथस्थित धार्मिक गुरुङलाई ‘चिनियाँ लामा’ नामले सम्बोधन गरिन्छ । गुठी संस्थान अन्तर्गत चलेको उक्त धार्मिक संस्थामा गुठी संस्थाले नै नियुक्ति गर्ने अभ्यास छ । भूमि व्यवस्था मन्त्रालय मातहत रहेको गुठी संस्थानबाट उनीहरूको नियुक्ति हुन्छ ।