— चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लकमा बाघ गणनाका लागि क्यामेरा जडानको काम बिहीबारबाट सुरु भएको छ।
पर्सा राष्ट्रिय निकुन्जको कार्यालय आधाभारमा बिहीबार आयोजित प्राविधिक समितिको समन्वय बैठकमा उक्त जानकारी गराइएको हो ।
बैठकमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकालोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सा कम्प्लेक्सको पहिलो र दोस्रो ब्लकमा गणनाको काम सम्पन्न गरेर बिहीबारबाट तेस्रो ब्लकमा गणनाका लागि क्यामेरा जडानको काम सुरु गरिएको बताए ।
पुस १ देखि यो कम्प्लेक्समा बाघ गणना सुरु गरिएको र प्रत्येक ब्लकमा औसत २० दिनको दरले ४० दिनपछि तेस्रो ब्लकको काम सुरु गरिएको उनले बताए । ‘प्रत्येक ब्लकमा २० दिनको दरले दुई महिनामा गरी तीन वटै ब्लकमा गणनाको काम सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘पर्सा राष्ट्रिय निकुन्जको कार्यालयबाट पश्चिम तथा पूर्व, पर्सा, बारा र मकवानपुर डिभिजन वन कार्यालयका मातहतको केही क्षेत्रमा एकै साथ क्यामेरा जडानको काम सुरु गरिएको छ ।’
बाघ गणनाको क्रममा सन् २००९-२०१० तिर प्रयोग गरिएको ‘क्यामेरा ट्रयाप विधि’ नै हाल पनि प्रयोग गरिएको छ। यस पटक गणनाको लागि निकुन्ज र बाघ पाइएको निकुन्जको बाहिरको ठूलोवन क्षेत्रको दायरा समेटिएको उनले बताए ।
बाघ गणनाका लागि क्यामेरा जडान गर्न हाल १२ वटा शिविर खडा गरिएको छ । शितलपुर, भाठा, महादेवपट्टी, अमलेखगन्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर,तामागढी र घोडेमसानमा गरी ती १२ शिविर स्थापित गरिएका छन् ।
भाठामा मात्र दुई वटा र अन्य सबै स्थानमा १/१ वटा शिविर रहेका छन् । सबै शिविरमा ७ जनाको दरले प्राविधिक टोली गरेर कूल ८४ जन यो काममा खटिएको आचार्यले बताए ।
बाघ गणनाका लागि प्रत्येक दुई वर्गकिलोमिटको फरमा एक जोडी क्यामेरा जडान गरिँदै छ। ३ सय २८ जोडीको दरले ६ सय ५६ वटा क्यामेरा बाघ गणनामा प्रयोग गरिन लागको छ। जमिनबाट ४० देखि ६० सेन्टिमिटरको उचाईमा र ६ देखि ८ मिटरको फरकमा जडान गरिने छ। ती क्यामेराले एकै साथ सम्पूर्ण ब्लकमानभ्याउने भएकाले दुई पटकमा गरी अर्थात १ हजार २ सय चार पटक क्यामेरा बाघ गणनाका लागि बिछ्याइने आचार्यले बताए।
चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले प्रत्येक चार वर्षमा गरिने बाघ गणना यस वर्ष वन्यजन्तु विभाग, राष्ट्रिय प्राकृतिक संरक्षण कोष, डब्लुडब्लु एफ नेपाल र जेडएसएल नेपालको सहयोगमा तथा नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वनकार्यालयलगायतको सरोकारवालाहरुको सहकार्यमा सन्चालन गरिएको बताए।
पर्सा राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले चार वर्षअघिको गणनामा पर्सा राष्ट्रिय निकुन्जमा ४१, चितवन राष्ट्रिय निकुन्जमा १ सय २८ र बर्दिया राष्ट्रिय निकुन्जमा १ सय २५ गरी नेपाल भरी कूल ३ सय ५५ बयस्क बाघ गणना भएको बताए। उनले यस पटकको गणनाको अघि नै बाघको संख्याको सम्बन्धमा पूर्वानुमान गर्न नसकिने बताए।
चितवन राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत हेमराज आचार्यले चितवन–पर्सा कम्प्लेक्समा हालसम्म बाघ गणनाको क्रममा पहिलो ब्लकमा ८ र दोस्रो ब्लकमा १६ गरी दुई दर्जन क्यामेरा जंगली हात्तीले नष्ट गरेको बताए । यस क्रममा केही क्यामेरा हराएको समेत उनले बताए ।