अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका बीबीसीले उल्लेख गरेको छ।
यद्यपि, रूसले आधिकारिक रूपमा त्यस्तो कुनै सम्झौताको पुष्टि गरेको छैन। युक्रेनी राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले ट्रम्पको भनाइको स्वागत गरेका छन्। उनले रुसले उक्त वाचा पूरा गर्ने आशा व्यक्त गरेका छन्।
ट्रम्पले आक्रमण रोक्ने समयसीमाको बारेमा स्पष्ट जानकारी दिएका छैनन्। राजधानी किभको तापक्रम बिहीबार रातिदेखि तीव्र गतिमा घट्ने र आगामी केही दिनमा माइनस २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
२०२२ मा युद्ध सुरु भएदेखि रुसले जाडोको समयमा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गर्दै आएको छ।