: झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल ठोकिँदा घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ गरामनीकी ५४ वर्षीया कल्पना भण्डारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
माघ ११ गते दिउँसो १:३० बजे मेचीनगर- ७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड-७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती कल्पना गम्भीर घाइते भएकी थिइन्। टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो।
उनको आज बिहान १०:१५ बजे उपचारको क्रममा मृत्यु भएको हो। ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।