: चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गर्दै चितवनको रत्ननगर नगरपालिका-४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको घरभित्र बीभत्स हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको हो।
तामाङलाई आफ्नै घरको कोठामा हात खुट्टा र मुखमा कपडाले बाँधेर हत्या गरी गरगहना नगद र मोबाइल फोन लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए।
उक्त हत्यामा बारा घर भई हालः चितवन बस्ने मोटे र विजय भन्ने शुक्रबहादुर भोलान, बारा घर भइ ललितपुर च्यासल बस्ने सूर्यमान तामाङ, धादिङका बुद्धिमान लामा, स्याङ्जा घर भइ चितवन बस्ने मिलन भन्ने कौ बहादुर गुरूङ र मकवानपुर घर भइ काठमाडौं थानकोट बस्ने हिराबहादुर स्याङ्तानलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका व्यक्तिहरूबाट ना२५प ६९६५ निलो कालो पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१-००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। केही दिनअघि एक्लै बस्दै आएकी सुकमायाको आफ्नै घरमा बीभत्स हत्या गरिएको अवस्थमा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।