: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए।
उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे। महिला उम्मेदवारको संख्या पनि केही धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ ।
उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सबैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे । उनले विभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताए । भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेदवारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ ।
उनले पार्टीले बनाएको आचारसंहितालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिट्टै सार्वजनिक गरिने जानकारी दिए।