: शंकास्पद गतिविधिमा संलग्न कोरियाली मूलका अमेरिकी नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आगमन कक्षबाट उनी पक्राउ परेका हुन्।
अध्यागमन कार्यालयले कोरियाली मूलका अमेरिकी नागरिक ली योङहो (YONGHO LEE)लाई पक्राउ गरेको हो। उनी लामो समयदेखि नेपाल आउजाउ गर्दै आएका थिए। नेपाल बसाईका क्रममा उनी शंकास्पद गतिविधि संलग्न थिए। सोहीअनुसार उनीमाथि नेपालको सुरक्षा संयन्त्रले निगरानी बढाएको थियो।
उनी कोरियन एयरलायन्सको केई६९५ उडानबाट शनिबार साँझ काठमाडौं अवतरण गरेका थिए। त्रिअबि अध्यागमन कार्यालय स्रोतका अनुसार उनको गतिविधि शंकास्पद लागेपछि पक्राउ गरिएको हो। 'शंकास्पद गतिविधिमा संलग्न भएको आधारमा नियन्त्रणमा लिएका छौं। बाँकी कुरा अनुसन्धानबाट खुल्दै जान्छ,' त्रिअबि अध्यागमन कार्यालयका एक अधिकारीले अन्नपूर्णसँग भने। ती अधिकारीले अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका अमेरिकी नागरिकबारे थप कुरा बताउन चाहेनन्।
अध्यागमनले अमेरिकी मूलका ती कोरियाली नागरिकका विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ। पछिल्लो समय अध्यागमन विभागले शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकमाथि निगरानी बढाएको छ।