: नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको छ।
शनिबार काठमाडौंमा राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्रलाई समेट्नुपर्ने विषयहरू सार्वजनिक गर्दै महासंघले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी राजनीतिक दलहरूले घोषणापत्र तयार गर्नुपर्ने जनाएको हो।
निजी क्षेत्रको मनोबल आधुनिक समयको सबैभन्दा न्यून अवस्थामा रहेकाले नै बैंकहरूमा पर्याप्त रकम भए पनि निजी क्षेत्र ऋण लिएर उद्यम गर्न तयार भएको महासंघको भनाइ छ। महासंघका अध्यक्ष चन्द्र ढकालले यसैगरी निजी क्षेत्र निरुत्साहित हुँदै जाने हो भने रोजगारी र राजस्व थप संकुचित भई मुलुक असफलता तर्फ उन्मुख हुने भएकाले यसमा राजनीतिक दलहरुले विशेष ध्यान दिनुपर्ने बताए।
उनले सरकारले पर्यटन उद्योगलाई उद्योग सरहको मान्यता दिए पनि सोही अनुरूप नीति कार्यान्वयन नभएकाले यसमा ध्यान दिनुपर्ने बताए। बजारको माग बढाउन र सर्वसाधारणको जीवन सहज बनाउन हालको उच्च आयकरको दर घटाउनु आवश्यक रहेको उनले उल्लेख गरे।
अध्यक्ष ढकालले निजी क्षेत्र सुरक्षित, सम्मानित र उत्साहित भए मात्रै रोजगारी बढ्ने र राजस्व विस्तार हुने भएकाले निजी क्षेत्रलाई निर्बाध रूपमा काम गर्ने वातावरण र सोही अनुरूप नीति नियम बनाएर लगानी प्रोत्साहित गर्न सकिए सोचेजस्तो आर्थिक विकास हुने बताए।
राजनीतिक दलहरूले निजी क्षेत्रको मर्मलाई बुझ्दै घोषणापत्र र कार्यान्वयनयोग्य नीति ल्याउनुपर्छ भन्ने महासंघको धारणा रहेको ढकालले बताए। उनले घोषणापत्र बन्ने तर पछि घोषणापत्रमा उल्लेख भएका विषयहरू नै कार्यान्वयन नहुने परिपार्टीलाई चिर्दै कार्यान्वयनमुखी घोषणापत्र तयार हुनुपर्नेमा जोड दिए।