— पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा शुक्रबार साँझ ७ बजेर १० मिनेटतिर इभी माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१–००२ज८५१८ नम्बरको इभी माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सवार १२ जनामध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
गम्भीर घाइते हुनेमा इभी माइक्रो चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका अन्तर्गत हर्कपुर बस्ने अन्दाजी २३ वर्षीय मनिष कुँवर रहेका छन् । उनको पेट र छातीमा भित्री चोट लागेको छ । यस्तै, कास्की पोखरा महानगरपालिका अन्तर्गत चमेरे गुफा बस्ने अन्दाजी २१ वर्षीया अन्जली पुनको टाउकोमा चोट लागी बोल्न नसक्ने अवस्था रहेको छ ।
मध्यम घाइते हुनेमा रौतहट माधवनारायण नगरपालिका–१ बस्ने १९ वर्षीय धिरज यादव, काठमाडौं महानगरपालिका–अनामनगर बस्ने २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ बस्ने २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ बस्ने २० वर्षीया इच्छा लिम्बू रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ । चालक, सहचालक र अन्जलीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते ६ जनाको अवस्था खतरामुक्त रहेकाले अस्पताल भर्ना गर्न नपरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।